कैदीबन्दीद्वारा चौकिदारले अनियमितता गर्ने गरेको आरोप



मनोज माझी

सप्तरी, पुस २४ । राजविराज कारागारका कैदीबन्दीले आफुहरुले पाउने विभिन्न सेवा सुविधा रकम तथा सामग्रीमा चौकिदारले अनियमितता गर्ने गरेको आरोप लगाएका छन ।

उनीहरुले सो प्रकरणबारे उचित छानवीन हुनु पर्ने माँग समेत गरेका छन । उनीहरुले चौकिदार (कैदी) मनोज यादव र कामेश्वर यादवले कारागारको “क” ब्लकमा राशन सामग्रीमा मनपरी मूल्य कायम गरी वसुली गर्नेदेखी कैदीबन्दीका लागी चिसो छल्न सरकारद्वारा कपडाका लागी पठाइएको रकममा समेत आर्थिक अनियमितता गरेको दाबी गरेका छन ।

कारागारमा बन्दी जीवन विताईरहेका सिरहाका दिपेन्द्र महतोका अनुसार चौकिदार कामेश्वर र मनोजले एक पिस माछाको ९० तथा मासुको १ सय ५० रुपैया जबरजस्ती वसुल्ने गरेको बताए । यस्तै आलु प्रति केजी १ सय, प्याज प्रति केजी १ सय ५० र काउली (कोबी) प्रति केजी २ सय ५०का दरले कारागारका कैदीबन्दीलाई बेच्ने गरेको उनको भनाई छ । यतिमात्र होइन, चिसो मौसमलाई ध्यानमा राखी सरकारले कपडाका लागी प्रति कैदीबन्दी २ हजार ५ सयका दरले पठाइएको रकममा पनि आर्थिक अनियमितता भएको कैदीबन्दीको गुनासो छ ।

कपडाका लागी प्रति कैदीबन्दीका लागी २ हजार ५ सय रुपैया सरकारले उपलब्ध गराएको छ । कैदी महतोले भने– तर हाम्रो हातमा १ हजारका दरले मात्र परेको छ ।” उनले चौकिदारले कैदी बन्दी संग डर, धाक, धम्की र विभिन्न बहानामा थप वसुली गर्ने गरेको आरोप समेत लगाए ।

यसै विषयलाई लिएर अघिल्लो दिन सोमवार साँझ हो हल्ला भएपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको टोलीले स्थिती नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । उनले कैदीबन्दीको माग अनुसार चौकिदारको सरुवा गरिएपछि कारागारको तनाव साम्य भएको बताए ।

यता ५ दिन अघि मात्र जिम्मेवारी सम्हालेका निमित्त जेलर शुशिल कर्णले कैदीबन्दीको गुनासो आएपछि दुबै चौकिदारलाई “क” ब्लकबाट हटाएर अनुसन्धान भइरहेको बताए । उनले राशन सामग्रीमा मनपरी मूल्य चौकिदारले लिएको गुनासो पछी कारागार भित्र राशन सामग्रीको उचित मुल्य कायम गरी मूल्य सुची नै टाँस गरिएको बताए ।

उनले कपडा वापतको रकम सम्बन्धमा कैदीबन्दीले लगाएको आरोप पनि छानवीन भईरहेको बताए ।

प्रकाशित मिति: २०८२ पुष २५, बिहिवार ०८:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको