काठमाडौं , पुस २४ । उपत्यकाका खोला किनारमा लागू गरिएको मापदण्डविरुद्ध आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ । सर्वोच्च अदालतले खोला किनारबाट थप २० मिटर खाली छाड्नुपर्ने फैसला गरेपछि त्यसको विरोधमा सरोकारवाला पक्ष सडकमा उत्रिएका हुन् ।
यसअघि नै खोला किनारमा २० मिटर क्षेत्र खाली राख्ने व्यवस्था कायम रहेकोमा सर्वोच्च अदालतले थप २० मिटर पनि छाड्नुपर्ने फैसला गरेको थियो । उक्त फैसलाले हजारौं घरधुरी प्रभावित हुने भन्दै स्थानीय बासिन्दा, घरधनी र विभिन्न सरोकार समितिहरूले निरन्तर विरोध जनाउँदै आएका छन् ।
आजको प्रदर्शनमा सहभागीहरूले अदालतको फैसला व्यवहारिक नभएको, जनजीवन र सम्पत्तिमाथि गम्भीर असर पार्ने भन्दै तत्काल पुनरावलोकन गर्न माग गरेका छन् । उनीहरूले प्लेकार्ड र नारामार्फत सरकार र न्यायालयको ध्यानाकर्षण गराएका थिए ।
सरोकार समितिले उक्त फैसला गर्ने न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र विनोद शर्माविरुद्ध महाअभियोग लगाउनुपर्ने मागसमेत अघि सारेको छ । उनीहरूको आरोप छ—फैसलाले सामाजिक, आर्थिक र मानवीय पक्षलाई बेवास्ता गरेको छ ।
यसैबीच, उक्त फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारका तर्फबाट तत्कालीन कानुन सचिव फडिन्द्र गौतमले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दायर गरेका थिए । सोही निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
प्रदर्शनकारीहरूले अदालतबाट जनमैत्री र व्यवहारिक निर्णय आउने अपेक्षा व्यक्त गर्दै, माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । माइतीघर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको थियो ।




