अमेरिकी अध्यागमन अधिकारीको गोलीबाट महिलाको मृत्यु, मिनियापोलिसमा विवाद चर्कियो



मिनियापोलिस , पुस  २४ । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा अमेरिकी अध्यागमन अधिकारीले गोली चलाउँदा ३७ वर्षीया एक महिलाको मृत्यु भएपछि तीव्र विवाद चर्किएको छ । घटनालाई लिएर स्थानीय प्रशासन र ट्रम्प प्रशासनबीच मतभेद देखिएको छ ।

बिबिसीका अनुसार अमेरिकी गृह सुरक्षा विभागले रेनी निकोल गुड नामकी महिलाले अध्यागमन एजेन्टहरूलाई गाडीले किच्ने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको दाबी गरेको छ । तर स्थानीय अधिकारीहरूले उक्त दाबी अस्वीकार गर्दै घटनालाई ‘अत्यधिक शक्ति प्रयोग’ को संज्ञा दिएका छन् ।

मिनियापोलिसका मेयर ज्याकोब फ्रेले यो घटनालाई गम्भीर भन्दै सम्बन्धित अध्यागमन एजेन्टहरूलाई सहर छाड्न आग्रह गरेका छन् । उनले संघीय एजेन्टहरूको उपस्थितिले सहर झनै असुरक्षित बनेको आरोपसमेत लगाए ।

घटना बुधबार बिहान करिब १०:२५ बजे भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएका विभिन्न भिडियोहरूमा मिनियापोलिसको एक आवासीय सडकमा एउटा एसयुभी गाडी बाटो छेकेर रोकिएको देखिन्छ । सडक छेउमा केही मानिसहरू विरोध प्रदर्शन गरिरहेका जस्ता देखिन्छन् ।

भिडियोमा अध्यागमन अधिकारीहरू गाडी नजिक पुगेर चालक महिलालाई बाहिर निस्कन आदेश दिइरहेका देखिन्छन् । एक एजेन्टले चालकपट्टिको ढोका तान्दा अर्का एजेन्ट गाडीको अगाडि उभिएको देखिन्छ । त्यसपछि गाडी अघि बढ्न खोज्दा एजेन्टहरूले गोली चलाएका हुन् । भिडियोमा कम्तीमा तीन पटक गोली चलेको आवाज सुनिन्छ । गोली लागेपछि गाडी नियन्त्रण गुमाएर सडक छेउमा पार्क गरिएको अर्को गाडीमा ठोक्किन्छ ।

बिबिसीले एजेन्टहरू गाडीबाट कति नजिक थिए वा उनीहरू ठक्करबाट घाइते भएका थिए कि थिएनन् भन्ने अझै स्पष्ट नभएको जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक अध्यागमन अधिकारीलाई ‘निर्ममतापूर्वक’ गाडीले किचिएको दाबी गरेका छन् । अवैध आप्रवासीविरुद्ध ट्रम्प प्रशासनले देशव्यापी कारबाही तीव्र बनाएपछि मिनियापोलिस क्षेत्रमा थप २,००० संघीय एजेन्ट तैनाथ गरिएको छ । तर स्थानीय नेतृत्वले यस्तो उपस्थितिले सहरमा तनाव र अराजकता बढाएको आरोप लगाएको छ ।

प्रकाशित मिति: २०८२ पुष २५, बिहिवार ११:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको