निर्वाचन प्रहरीमा भर्ना खुल्दा फाराम बुझाउनेको भीड



काठमाडौं , पुस २५ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ। भर्ना खुलेसँगै काठमाडौंसहित देशभरका प्रहरी कार्यालयमा फाराम बुझाउनेको भीड लागेको छ।

नेपाल प्रहरीले यसपटक कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको छ। यस्तै, सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी गरेको छ। सशस्त्र प्रहरीतर्फ भने आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आवेदन खुलाइने बताइएको छ।

नेपाल प्रहरीतर्फको निर्वाचन प्रहरीमा भर्नाका लागि आजदेखि फाराम वितरण तथा दर्ता सुरु भएको हो। काठमाडौं प्रहरी परिसर कार्यालयमा बिहानैदेखि आवेदन दिन इच्छुकहरूको लामो लाइन देखिएको छ। आकांक्षीहरू लाइनमा बसेर दरखास्त फाराम बुझाइरहेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ। सार्वजनिक बिदाका दिनमा पनि आवेदन लिन र बुझाउन सकिने व्यवस्था गरिएको छ। इच्छुकले जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा सबै जिल्ला प्रहरी कार्यालयबाट फाराम लिन र बुझाउन सक्नेछन्।

निर्वाचन प्रहरीमा आवेदन दिन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। जन्ममिति वि।सं। २०२८र१०र०१ देखि २०६४र१०र०१ बीच भएका व्यक्तिले आवेदन दिन पाउनेछन्। साधारण लेखपढ गरेको, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक रूपमा स्वस्थ तथा आतंककारी वा विध्वंसात्मक संगठनसँग सम्बन्ध नरहेको हुनुपर्ने सर्त राखिएको छ।

शारीरिक मापदण्डअनुसार पुरुषको हकमा न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च र तौल ५० किलो तथा महिलाको हकमा ४ फिट १० इन्च उचाइ र ४२ किलो तौल हुनुपर्नेछ।

निर्वाचन प्रहरीलाई ४० दिनका लागि भर्ना गरिनेछ। यस अवधिमा प्रतिदिन ८६९ रुपैयाँ पारिश्रमिक दिइनेछ, जसअनुसार ४० दिनको कुल ३४ हजार ७७६ रुपैयाँ प्राप्त हुनेछ। साथै, खाद्यान्न खर्च व्यक्तिगत बैंक खातामा उपलब्ध गराइनेछ। खटिएको स्थानमा आउजाउका लागि एकपटकको ८४६ रुपैयाँ तयारी खर्च र चार दिनका लागि प्रतिदिन ३०० रुपैयाँका दरले १२०० रुपैयाँ खाजा खर्च पनि प्रदान गरिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ पुष २६, शुक्रवार ११:३०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको