दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ



दार्चुला , पुस  २५ । जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको भवन निर्माणमा लगातार ढिलाइ भइरहेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि चार वर्ष नाघ्दा भवनको केवल ५५ प्रतिशत भौतिक प्रगति भएको छ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बैतडीबाट निर्माण भइरहेको उक्त भवनको ठेक्का २०७८ असार २४ गते श्याम सुन्दर गोर्खा वाइआर जेभीसँग रु। २६ करोड ४८ लाख २७ हजारमा सम्झौता भएको थियो। प्रारम्भिक लक्ष्य २०८१ असार २३ भित्र निर्माण सम्पन्न गर्ने रहे पनि अहिलेसम्म काम पूरा हुन सकेको छैन।

निर्माण कम्पनीका सब–इन्जिनियर गोकर्ण जोशीका अनुसार हाल तेस्रो तला ढलानको काम भइरहेको छ। “काम निरन्तर भइरहे पनि उल्लेख्य प्रगति देखिएको छैन,” उहाँले जानकारी दिनुभयो। निर्माण कम्पनीले भौतिक प्रगतिको ढिलाइका कारण म्याद थपको प्रक्रिया अघि बढाएको छ।

डा। रवीन्द्र भट्टराई, मेडिकल सुपरिटेन्डेन्ट, भन्छन्, “भवन नहुँदा सेवा सञ्चालन कठिन छ। अस्थायी संरचनामा बिरामीको उपचार गर्नुपरेको छ। जटिल अपरेशन र आवश्यक जाँचमा समेत समस्या देखिएको छ।” दैनिक दुई सयभन्दा बढी बिरामी आउने अस्पतालमा प्रसूति सेवा, आइसियू, एक्स–रे र अल्ट्रासाउन्ड सेवा प्रभावित भइरहेको छ।

निर्माण ढिलाइप्रति नागरिक समाज र स्वास्थ्यकर्मीले गम्भीर ध्यानाकर्षण गराउँदै आएका छन्। नागरिक समाजका संयोजक महेश भट्टले भने, “अस्पताल जस्तो संवेदनशील स्थानमा निर्माण कम्पनीको लापरबाही स्वीकार्य छैन। समयमै काम पूरा नभए कारबाही र कालो सूचीमा राख्नुपर्छ।”

जिल्ला अस्पताल ३९ वर्ष पुरानो भए पनि हालसम्म मेडिकल सुपरिटेन्डेन्ट पद स्थायी रूपमा रिक्त छ। ६३ पदमध्ये १३ जना मात्रै कार्यरत छन्। हाल एक डाक्टरले औसतमा २१५ बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ।

डा। भट्टराईका अनुसार भारतसँग सीमा जोडिएको दार्चुलामा अस्पतालको समयमै भवन निर्माण र पर्याप्त जनशक्तिको व्यवस्थापन भए सेवा गुणस्तरीय र व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने छ।

प्रकाशित मिति: २०८२ पुष २६, शुक्रवार १४:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको