पोखरा, पुस २५ । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेशका १८ वटै निर्वाचन क्षेत्रका सम्भावित उम्मेदवारहरूको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ। क्षेत्र र जिल्ला कमिटीबाट प्राप्त रायसहितको नामावली अब अन्तिम निर्णयका लागि केन्द्रीय स्तरमा पठाइएको छ।
प्रदेशभर १२१ जना आकाङ्क्षी सिफारिस भएका छन्। सबैभन्दा धेरै कास्कीबाट ३२ जना, स्याङ्जाबाट २१ जना र तनहुँबाट १८ जना आकाङ्क्षी रहेका छन्। केही निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस भएको छ भने कतिपय क्षेत्रमा धेरै दाबीदारहरू रहेका छन्।
नवलपुर–२, बागलुङ–२ र मनाङमा एकल नाम सिफारिस भएका छन्। नवलपुर–२ बाट तिल बहादुर महत क्षेत्री, बागलुङ–२ बाट मञ्जु शर्मा चालिसे र मनाङबाट पोल्देल छोपाङ गुरुङको नाम एकल सिफारिस गरिएको एमाले प्रदेश सचिव धनन्जय दवाडीले जानकारी दिए।
लमजुङबाट केन्द्रीय उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ पक्का दावेदार रहेका छन्। तनहुँ–१ मा भगवती न्यौपाने, तनहुँ–२ मा केदार सिग्देल प्रमुख दाबेदार मानिएका छन्। क्षेत्र नम्बर १ बाट विशाल थापा, स्याङ्जा–१ बाट मिनप्रसाद गुरुङ, स्याङ्जा–२ बाट सूर्यप्रसाद गैरे, म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ र पर्वतबाट पदम गिरी प्रमुख उम्मेदवारका रूपमा अघि छन्।
कास्की क्षेत्र नम्बर १ मा दिलिप न्यौपाने, २ मा रश्मी आचार्य र ३ मा माधव बास्तोलाको नाम चर्चामा छ। मुस्ताङबाट इन्द्रधारा विष्ट बलिया दावेदार छन्, तर टासी स्याङ्बो गुरुङसेनीलाई उम्मेदवार बनाउने सम्भावना बढी देखिन्छ।
एमाले गण्डकी प्रदेश सचिव दवाडीले भने, “हामीले तल्लो तहबाट आएका सुझाव र आकाङ्क्षीहरूको भावनालाई सम्मान गर्दै सबै नाम केन्द्रमा पठाएका छौँ। अब केन्द्रीय कमिटीले उम्मेदवारको योग्यता, लोकप्रियता र जित्ने आधारमा अन्तिम निर्णय गर्नेछ।”
सिफारिससँगै गण्डकीमा चुनावी सरगर्मी बढेको छ र आगामी निर्वाचनमा पार्टीको रणनीति र टिकट वितरणमा तल्लो तहको सुझावलाई प्रभावकारी रूपमा समावेश गर्ने तयारी भइरहेको छ।




