उर्लाबारी , पुस २५ । ताप्लेजुङ र पाँचथर जिल्लालाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने छोटो सडक योजना अलपत्र परेको छ। छ वर्षअघि सुरु गरिएको खोर्साने–केराबारी–सिंहदेवी सडक निर्माण कार्य ठेक्का कम्पनीले बीचमा छोडेपछि रोकिएको हो।
सङ्घीय सरकारको सहरी विकास मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले विसं २०७६ साउन २० गते ठेक्का लगाएको उक्त २५ किलोमिटर लामो सडक २०७८ भदौ ८ गते सम्पन्न हुने तालिका थियो। ठेक्का सम्झौता अनुसार कुल लागत ७० करोड ४९ लाख रुपैयाँ रहेको छ। तर पटक–पटक म्याद थप भए पनि काम पूरा नभएपछि २०८१ चैत १४ गते ठेक्का खारेज गरिएको थियो।
आयोजना प्रमुख शालिकराम देवकोटाका अनुसार, खोर्साने–केराबारी–सिंहदेवी सडकसँगै मोरङको लक्ष्मीमार्ग–डाँगीहाट–बनौल–बबियाबिर्ता हुँदै अमाहीबरियाती जोड्ने सडक पनि ठेक्का आह्वानमा अलपत्र छ। ठेक्का खारेज हुनुअघि ५५ प्रतिशत भौतिक र ४४ प्रतिशत वित्तीय प्रगति भएको देखिएको थियो।
सडकको आधा भाग पहाडी क्षेत्रमा पर्ने हुँदा निर्माण चुनौतीपूर्ण रहेको बताइएको छ। केराबारी–२ का वडाध्यक्ष प्रेमबहादुर लिम्बूका अनुसार, यो सडक सञ्चालनमा आएमा ताप्लेजुङ र पाँचथरका बासिन्दा विराटनगरसम्मको यात्रा छोटो र सहज हुनेछ। पर्यटन र कृषि उत्पादनको व्यापारका लागि पनि सडकको महत्व ठूलो छ।
हाल बासिन्दाहरू धनकुटा–भेडेटार–धरान–इटहरी मार्ग हुँदै ४३ किलोमिटर घुमाएर मात्र जेफाले पुग्न सकिरहेका छन्। हिउँदमा साना गाडी र मोटरसाइकलले जोखिम मोलेर यात्रा गर्ने बाध्यता छ भने वर्षायाममा वैकल्पिक बाटो छैन।
प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले चालु आर्थिक वर्षमा सडक स्तरोन्नतिको लागि २० करोड रुपैयाँ विनियोजन भएको जानकारी दिनुभयो। सडक बोर्डले पुनः ठेक्का प्रक्रिया अघि बढाएको र बहुवर्षीय स्रोत सहमतिका लागि मन्त्रालयमा पठाएको जनाएको छ।
सडक निर्माण सम्पन्न हुँदा उत्तरी मोरङको जेफाले पर्यटन क्षेत्र, चिया बगान, भ्युटावर र कृषि उत्पादनका लागि ठूलो विकास हुने अपेक्षा गरिएको छ।




