एमालेको अन्तरपार्टी निर्देशन : परिआए जुध्नका लागि तयार रहनू



काठमाडौँ, पुस २५। नेकपा एमालेले देशभर राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी गरिएको निर्देशनमा भदौ २३ र २४ पछि देशको शान्ति–सुरक्षा इतिहासकै नाजुक चरणमा पुगेको दाबी गरिएको छ।

निर्देशनमा भनिएको छ, “राज्य व्यवस्थालाई कमजोर बनाइएको छ। नागरिकले राज्यप्रति भरोसा गर्न नसक्ने अवस्था सिर्जना भएको छ भने आपराधिक तत्त्वहरू भयरहित बनेका छन्। यस्तो अवस्थामा राष्ट्र, जनता र पार्टीको रक्षाका लागि पार्टीपंक्ति प्रतिरोधी ढङ्गले अघि बढ्न तयार हुनुपर्छ।”

भदौ २३ र २४ पछि उत्पन्न ‘राज्यविहीनताको अवस्था’ का कारण राष्ट्रिय स्वयंसेवक फोर्स गठन गर्ने निर्णय गरिएको उल्लेख छ। पार्टीसम्बद्ध जनसंगठनका रूपमा मान्यता प्राप्त फोर्स सम्बन्धित तहका पार्टी कमिटीको प्रत्यक्ष नेतृत्वमा पालिका तहसम्म गठन गर्न भनिएको छ। साथै, आमजनताको सहभागितामा टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिइएको छ।

निर्देशनमा भदौ २३ र २४ का घटनापछि एमाले र नेतृत्वविरुद्ध बाह्य नियोजित आक्रमण र घेराबन्दीका कारण पार्टीपंक्ति प्रभावित भए पनि चुनौती सामना गर्दै अघि बढ्ने नीति अपनाइएको दाबी गरिएको छ। पार्टीको पहलकदमीका कारण लोकतान्त्रिक परिवेश फराकिलो भएको, प्रधानमन्त्री शीर्ष नेतासँग छलफल गर्न बाध्य भएको र पार्टी अध्यक्षमाथि लगाइएका प्रतिबन्ध फिर्ता भएको घटनालाई उदाहरण बनाइएको छ।

एमालेले निर्वाचन बिथोल्ने षड्यन्त्र हुन सक्ने चेतावनी दिँदै “आन्दोलन वा चुनाव जुनसुकै अवस्थामा पनि पार्टीपंक्ति जुध्न तयार रहनुपर्छ” भन्ने निर्देशन दिएको छ।

सामाजिक सञ्जाललाई पार्टी कार्यको महत्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न जोड दिँदै, पार्टीका नीति, कार्यक्रम र उम्मेदवारलाई प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउन निर्देशन दिइएको छ। साथै, भूराजनीतिक चुनौती र बदलिँदो विश्व परिवेशमा नेपालजस्ता संवेदनशील मुलुकमा संविधान, लोकतन्त्र र पार्टी आन्दोलनको भविष्य सुरक्षित गर्न जनचेतना र संगठनात्मक सतर्कता अपरिहार्य भएको एमालेले ठहर गरेको छ।

प्रकाशित मिति: २०८२ पुष २६, शुक्रवार ०८:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको