काठमाडौं, पुस २६ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अब देश नै नरहने हो कि भन्ने आशंका पैदा भएको बताएका छन्। ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
नारायणहिटी राजदरबार छाडेको करिब दुई दशक बितिसक्दा पनि देशले भोगिरहेको राजनीतिक, सामाजिक र आर्थिक संकटले आफूलाई चिन्तित बनाएको पूर्वराजा शाहले उल्लेख गरेका छन्। उनले भनेका छन्, “हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा उत्पन्न भएको छ।”
पूर्वराजा शाहले सबै जात, धर्म, भाषा र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा राजसंस्थाले जिम्मेवारी निर्वाह गर्दै आएको दाबी गरेका छन्। जनताले सुम्पेको दायित्वबाट आफू कहिल्यै विमुख नभएको र राष्ट्रहितप्रति सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ।
उनले सबै नेपालीलाई राष्ट्रिय एकता र पृथ्वी नारायण शाहले देखाएको ‘पृथ्वी पथ’मा अघि बढ्न आह्वान गरेका छन्। “नेपाली जहाँसुकै रहे पनि उनीहरूको पहिचान नेपालीकै रूपमा रहन्छ। त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा जोडिएको हुन्छ,” सन्देशमा उल्लेख गरिएको छ।
देशबाट तीव्र रूपमा जनशक्ति पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै पूर्वराजा शाहले यसले देशको भविष्यप्रति निराशा झल्काउने बताएका छन्। पछिल्लो समय श्रमिक मात्र होइन, पुँजी, पुँजीपति तथा कर्मठ उद्यमीहरू समेत विदेश पलायन हुन थालेकोप्रति उनले गम्भीर ध्यानाकर्षण गराएका छन्।
पूर्वराजा शाहको यो सन्देशलाई वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय एकता र शासन प्रणालीबारे पुनः बहस चर्काउने अभिव्यक्तिका रूपमा हेरिएको छ।




