राजविराजमा भगवान जगन्नाथको भव्य रथयात्रा



मनोज माझी

सप्तरी, पुस २६ । हरेरामा, हरेकृष्णा नाराले नगर गुञ्जयमान गर्दै शनिवार नाचगान सहित राजविराजमा भगवान जगन्नाथको भव्य रथयात्रा निकालिएको छ ।

हजारौ भक्तजनको सहभागितामा स्थानीय लक्ष्मीनारायण राधाकृष्ण मन्दीरबाट भगवान जगन्नाथको रथयात्रा निकालिएको हो ।

रथयात्रामा झण्डै दश हजारको हाराहरीमा भक्तजन सहभागी भए । श्रीलक्ष्मीनारायण राधाकृष्ण मन्दीरको समन्वय तथा कृष्णभक्त मण्डल एवम् इस्कन राजविराजको संयुक्त आयोजनामा विगत चार बर्षदेखि सुरु भएको रथयात्रा महोत्सवको रुपमा मनाउन थालिएको आयोजक समितिका सल्लाहकार सतिश दत्तले जानकारी दिए ।

भगवान जगन्नाथ, बलदेव र सुभद्राको मुर्ति राखेर चौथो संस्करणको यात्रामा प्रयोग गरिएको रथको लम्बाई २२ फिट, चौडाई ११ फिट तथा उचाई १५ फिट रहेको उनको भनाई छ । त्यस्तै रथको अग्र भागबाट दाँया र बायाँ फैलिएका ७५ फिट लम्बाईको डोरी तान्न भक्तजनमा तछाडमछाड नै चल्यो ।

रथयात्रा नगरपरिक्रमा पश्चात पुनः सोही स्थानमा पुगी समापन भएको छ । नगरपरिक्रममाको क्रममा सहभागी भक्तजनद्वारा लगाईएको हरेरामा हरेकृष्णाको नाराले नगर गुञ्जयमान भएको थियो ।

सडकमा रङगोलीको निर्माण तथा नाचगान गर्दै निस्केको रथयात्रामा सप्तरीका साथै छिमेकी जिल्ला सिरहा, सुनसरी, उदयपुर तथा सिमावर्ती भारतीय क्षेत्रका स्थानबाट समेत भक्तजन र साधुसन्त सहभागी भएका थिए ।

रथयात्राका क्रममा बैद्धिक सनातन धर्म जागरण अभियान समिति सप्तरीमा आबद्ध हिन्दुबादीहरुले हिन्दु राष्ट्र कायम गर भन्ने नारा समेत लगाएका थिए । कुनै अप्रिय घटना हुन नदिन सुरक्षाका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित मिति: २०८२ पुष २६, शनिबार १७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको