सप्तरी, पुस २६ । राष्ट्रिय मुक्ति पार्टीका कार्यकारिणी सदस्य एवंम् पुर्वमन्त्री चन्द्रकान्त चौधरीको ८५ वर्षको उमेरमा निधन भएको छ ।
डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ पातो निवासी चौधरीको शनिबार बिहान ११ः३० बजे आफ्नै निवासमा निधन भएको हो । उनी केही दिनयता अस्वस्थ्य रहदै आएको परिवाजनले बताएको छ ।
स्व. चौधरी नेपाली राजनीतिमा अनुभवी तथा सम्मानित नेताका रुपमा परिचित थिए । उनी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा सदस्यको हैसियतमा उनीले जलस्रोत, ऊर्जा तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए ।
राष्ट्रिय मुक्ति पार्टीका उपमहासचिव गजेन्द्र मण्डलले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको पार्टीलाई अपुर्णीय क्षति भएको जनाएका छन् ।

उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले पनि दुःख व्यक्त गरेका छन् । स्व. चौधरीका दुई छोरा र एक छोरी छन् ।
राजनीतिक जीवनको प्रारम्भिक चरणमा उनी नेपाली कांग्रेसबाट सुरु गरेका थिए । पछि पार्टीभित्र आफुलाई वेवास्ता गरिएको भन्दै उनी राजपा प्रबेश गरेका थिए ।







