काठमाडौँ , पुस २६ । समानुपातिक सूची सच्याउन माग गर्दै केही महिला नेतृ अनशनमा बसेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा तनाव उत्पन्न भएको छ। असन्तुष्ट नेतृहरूले पार्टी नेतृत्व, विशेषगरी अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूमाथि दमन र दुर्व्यवहार गरेको आरोप लगाएका छन्।
नेतृहरूको भनाइमा समानुपातिक सूचीमा परिवारवाद र अवसरवाद हावी गरिएको छ। यही विषयमा ध्यानाकर्षण गराउन उनीहरू हिजो पार्टी कार्यालय पुगेर अध्यक्ष लिङदेनलाई ज्ञापनपत्र बुझाउन गएका थिए। अध्यक्षसँग भेट नभएपछि महामन्त्री राजेन्द्र गुरुङलाई ज्ञापनपत्र बुझाइएको थियो।
केही समयपछि अध्यक्ष लिङदेन कार्यालय प्रवेश गरेपछि असन्तुष्ट महिला नेतृहरूसँग वादविवाद भएको बताइएको छ। नेतृ चम्पा अधिकारीका अनुसार विवादकै क्रममा अध्यक्ष आक्रोशित हुँदै आफूहरू बसेको म्याटसमेत च्यातिदिएका थिए। “हाम्रो माग सुन्नुको साटो अध्यक्ष स्वयं उत्तेजित हुनुभयो र अनशन बसेको म्याट च्यातिदिनुभयो,” अधिकारीले भनिन्।
दिनभरि चलेको विवादपछि केही नेतृहरूले रातिदेखि नै पार्टी कार्यालयभित्र अनशन सुरु गरेका छन्। नेतृ नानीमैया आचार्य आमरण अनशनमा बसेकी छन् भने चम्पा अधिकारी, घ्युकुमारी बस्नेतलगायत नेतृहरूले रिले अनशनमार्फत समर्थन जनाएका छन्।

अनशन जारी रहँदा आज बिहान पार्टी कार्यालयको गेटमा बाहिरबाट ताला लगाइएको थियो। अध्यक्षको निर्देशनमै ताला लगाइएको नेतृहरूको आरोप छ। दिउँसो सञ्चारकर्मीहरू रिपोर्टिङका लागि पुगेपछि मात्रै ताला खोलिएको बताइएको छ।
महिला नेतृहरूले समानुपातिक सूचीमा खुश्बु ओली र उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नीलाई पहिलो नम्बरमा राखिएको विषयप्रति आपत्ति जनाएका छन्। लामो समयदेखि पार्टीका लागि योगदान दिएका महिलालाई पाखा लगाएर व्यक्तिगत र पारिवारिक सम्बन्धका आधारमा नाम समावेश गरिएको केन्द्रीय सदस्य पवित्रा सुब्बाको आरोप छ।
पार्टी नेतृत्वले भने कार्यसम्पादन समितिको सामूहिक निर्णय भएकाले सबैले त्यसको स्वामित्व लिनुपर्ने भन्दै अनावश्यक विवाद नगर्न आग्रह गरेको छ।







