आश्रम विवाद उग्र बन्दा जनकपुर–ढल्केवर सडक खण्ड तनावग्रस्त, ६ राउण्ड अश्रुग्याँस प्रहार



ढल्केवर , पुस  २६ । ऐलानी जग्गा कब्जा गरी सतलोक आश्रम(रामपाल आश्रम), निर्माण गरिएको आरोपसँगै सुरु भएको विवाद उग्र बनेपछि जनकपुर–ढल्केवर सडक खण्ड शनिबार तनावग्रस्त बनेको छ। धनुषाको मिथिला नगरपालिका–२ मा रहेको उक्त आश्रमलाई लिएर स्थानीय बासिन्दा र आश्रम पक्षबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको हो।

स्थानीयका अनुसार ऐलानी जग्गा अतिक्रमण गरी आश्रम निर्माण गरिएको भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो। शनिबार विरोध गर्न आश्रम पुगेका स्थानीयमाथि आश्रमभित्रबाट आक्रमण भएपछि अवस्था झनै तनावपूर्ण बनेको बताइएको छ। आक्रमणपछि आक्रोशित स्थानीयले जनकपुर–ढल्केवर सडक खण्ड अन्तर्गत औरही पुल क्षेत्रमा टायर बालेर प्रदर्शन सुरु गरेका छन्, जसका कारण सो सडक खण्डमा यातायात आवागमन प्रभावित भएको छ।

प्रदर्शनका क्रममा आश्रमबाट बाहिर निस्किएको एक एम्बुलेन्समाथि प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। घटनापछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीले भीड तितरबितर पार्न ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको जनाएको छ।

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच केही समय धकेलाधकेलसमेत भएको बताइए पनि हालसम्म मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन। स्थानीय प्रशासनले शान्ति सुरक्षालाई ध्यानमा राख्दै थप प्रहरी परिचालन गरेको छ भने अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको जनाएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा तनाव बढाएको छ। प्रशासनले दुवै पक्षलाई संयम अपनाउन आग्रह गर्दै संवादमार्फत समस्या समाधान गरिने बताएको छ। आश्रम निर्माणको वैधता, जग्गाको स्वामित्व र स्थानीयको मागबारे छानबिन गरी आवश्यक निर्णय लिने तयारी भइरहेको प्रशासनको भनाइ छ।

प्रकाशित मिति: २०८२ पुष २७, शनिवार १३:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको