काठमाडौं, पुस २७ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु हुँदैछ । आज मध्याह्न १२ बजे उद्घाटन सत्र आयोजना गरिने विशेष महाधिवेशन उद्घाटनअघि राजधानीमा कांग्रेसले शक्ति प्रदर्शनस्वरूप भव्य जुलुस निकाल्ने तयारी गरेको छ ।
कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन समारोह हुने छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना हुन लागेको विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ । तर देउवाले निमन्त्रण अस्वीकार गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिँदै आएको छ र आजकै दिन जिल्ला सभापति तथा युवाको भेला आह्वान गरेको छ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार उद्घाटनअघि बिहान ११ बजे काठमाडौं र ललितपुरका छ स्थानबाट एकैसाथ जुलुस निकालिनेछ । सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरी र कुपण्डोलबाट निस्कने जुलुस विभिन्न रुट हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
पद्मकन्या क्याम्पस रुटबाट धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित मधेश प्रदेशका जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्ता सहभागी हुनेछन् । यसले विशेष महाधिवेशनमा मधेशको सशक्त उपस्थिति देखाउने आयोजकको अपेक्षा छ ।
उद्घाटन सत्रपछि आजै बन्दसत्र सुरु हुनेछ । बन्दसत्रको सभापतित्व विशेष महाधिवेशनका पक्षमा खुलेका प्रतिनिधिहरूमध्ये जेष्ठ सदस्यले गर्नेछन् । सचिवालयका अनुसार ओमकार श्रेष्ठ वा पूर्व उपसभापति गोपालमान श्रेष्ठमध्ये एकले बन्दसत्रको सभापतित्व गर्ने सम्भावना छ ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७९२० बमोजिम विशेष महाधिवेशनको माग गरेका हुन् । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ । यसका निर्णयले नेपाली कांग्रेसको भावी संगठनात्मक संरचना र राजनीतिक दिशामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।




