काठमाडौं , पुस २७। नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि आज भृकुटीमण्डपमा प्रतिनिधिहरूको नाम दर्ता सुरु भएको छ। बिहान ८ बजे सुरु हुने तयारी भए पनि केही ढिलाइ भएको छ। महाधिवेशन स्थलको मुख्य प्रवेशद्वार नजिकै रहेको स्टलबाट प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गरिरहेका छन्।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार नाम दर्ता गर्नका लागि परिचय पत्र र एक प्रति पासपोर्ट साइजको फोटो अनिवार्य छ। नाम दर्ताको शुल्क एक हजार तोकिएको छ। प्रतिनिधिहरूले दर्तापछि कार्ड प्राप्त गरेर महाधिवेशनमा प्रवेश गर्न सक्नेछन्।
महाधिवेशनको उद्घाटन आज मध्याह्न १२ बजे काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा हुने तय भएको छ। उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ, जसको सभापतित्व जेष्ठ सदस्यले गर्नेछन्।
विशेष महाधिवेशनका पक्षधरहरूले पार्टी विधानको धारा १७९२० अनुसार ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरबाट महाधिवेशनको माग गरेका थिए। त्यसैअनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन्। तर संस्थापन पक्षले यस महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ।
कांग्रेसले काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट जुलुस निकालेर महाधिवेशन स्थलसम्म शक्ति प्रदर्शन गर्ने तयारी गरेको थियो।
विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुने बताइएको छ, र यसले पार्टीको संगठनात्मक संरचना, रणनीति र आगामी राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।




