काठमाडौं, पुस २७ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी विभाजन हुन नदिन आफू सतर्क रहेको बताएका छन्। विशेष महाधिवेशन सुरु हुनुअघि जारी भिडियो सन्देशमा उनले पार्टी एकता, विधान कार्यान्वयन र देशको संविधान जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए।
डा. कोइरालाले भने, “देश अहिले निर्वाचनको संघारमा छ। केही महिनाअघि मात्रै भएको निर्वाचनपछि अनिर्वाचित सरकार रहेको छ। संविधान आंशिक रूपमा कमजोर अवस्थामा छ। आठ दशकअघि नेताहरूले लोकतान्त्रिक आन्दोलन सुरु गरेका थिए र निरंकुश शासनविरुद्ध संघर्ष गर्दै लोकतन्त्र स्थापना गरे। अहिले हाम्रो प्रयास यही संविधानलाई आगामी निर्वाचनमार्फत सुरक्षित राख्न हो।”
उनले जेनजी आन्दोलनपछि राजनीतिक दलहरूको कमजोरी देखिएको र कांग्रेसमा संगठनात्मक गतिविधि बढेको बताएका छन्। यही कारणले पार्टीले विशेष महाधिवेशनको आयोजनामा ध्यान दिएको उनले बताए।
डा. कोइरालाले आफ्नो शैलीबारे भने, “मैले पार्टीको विधान र प्रक्रियामा शान्तिपूर्ण तर दृढतापूर्वक संघर्ष गरेँ। मेरो शैली मधुरो भए पनि सहकर्मीहरूले असहमत भए पनि अधैर्य भएर अघि बढिनँ।”
उनको भनाइले पार्टी एकता कायम राख्ने, विधानको कार्यान्वयन सुनिश्चित गर्ने र आगामी निर्वाचनमा कांग्रेसको सशक्त उपस्थिति सुनिश्चित गर्ने प्रतिबद्धता प्रष्ट भएको छ।




