काठमाडौं, पुस २७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा नेपाल) बीच एकीकरणसम्बन्धी सहमति पत्र सार्वजनिक भएको छ। दुवै दलबीच भएको सहमतिअनुसार एकीकरण प्रक्रिया अघि बढाइने र पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम रहने उल्लेख गरिएको छ।
सहमति पत्रअनुसार दुवै दलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एकीकरणको औपचारिक प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन्। पार्टीको चुनाव चिह्न छाता नै रहनेछ भने पार्टीको झण्डा माथिल्लो भाग रातो, बीचमा सेतो र तल्लो भाग हरियो रहने व्यवस्था गरिएको छ। सेतो भागको बीचमा छाता अंकित हुनेछ।
एकीकृत पार्टी सञ्चालनका लागि ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिने सहमति भएको छ। उक्त समितिले आफ्नो भित्रबाट ११ सदस्यीय सचिवालय गठन गर्नेछ। दुवै पार्टीका केन्द्रीय समिति समायोजन नभएसम्म पार्टीको सांगठनिक, सञ्चालन, निर्देशन तथा निर्णय गर्ने जिम्मेवारी यही समन्वय समितिमा रहनेछ।
सहमति अनुसार जसपा नेपाल र लोसपा नेपाल मातहत रहेका सबै तहका संगठन, भ्रातृ संगठन, शुभेच्छुक संगठन, विभाग तथा संरचनाहरू केन्द्रीय समन्वय समितिको निर्देशनअनुसार सञ्चालन हुनेछन्। संगठनात्मक समायोजन नभएसम्म पार्टीका संरचनाहरू आ–आफ्नो स्थान र कार्यक्षेत्रमा सक्रिय रहने उल्लेख छ।
त्यस्तै, आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको मनोनयन केन्द्रीय समन्वय समितिको निर्णयअनुसार संयुक्त रूपमा हस्ताक्षर गरेर पेश गरिने सहमति पनि भएको छ।
मधेश केन्द्रित राजनीतिमा लामो समयदेखि चर्चामा रहेको जसपा–लोसपा एकीकरणले मधेशको राजनीति थप सुदृढ हुने अपेक्षा गरिएको छ। सहमति कार्यान्वयनमा गएमा आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा यसको प्रभाव महत्वपूर्ण हुने विश्लेषकहरूको भनाइ छ।







