काठमाडौं, पुस २८। उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रियामा आफूले ठूलो पीडा भोगेको बताएका छन्। उनले अब उज्यालो नेपाललाई देशको पहिलो पार्टी बनाउने अभियानमा लाग्ने र भविष्यमा कुनै दलसँग पार्टी मर्जर नगर्ने स्पष्ट पारेका छन्।
कान्तिपुरको पडकास्ट शृंखला ‘वियोन्ड दि हेडलाइन्स’ मा कुरा गर्दै घिसिङले बताए, “म त १२ दिनमै अलग भएँ। तर उहाँहरुको सहकार्य लामो रहोस्। अझै बालेन शाहलाई त मेरो झन् शुभकामना छ। जनताले चाहेको उहाँहरुको एकता हो।”
घिसिङले भदौ २४ पछि मन्त्री बन्ने प्रस्ताव कसरी आएको बारे पनि जानकारी दिए। उनले दाबी गरे कि उनी राति १ बजे आर्मी मुख्यालयमा बोलाएर पुगेका थिए र प्रधानमन्त्री सुशीला कार्कीले नै मन्त्री बन्ने प्रस्ताव दिएका थिए। उनका अनुसार यस क्रममा केही अन्य व्यक्तिहरूले समेत प्रस्ताव बारे छलफल गरेका थिए।
रास्वपासँगको छोटो समयको एकता प्रक्रिया आफ्नो जीवनकै पीडादायी अनुभव भएको उनले बताए। “मन्त्री हुँदा पनि कोठाकोठा र घरघरमा गएर वार्ता गरेको थिएँ। मैले मेरो घरमा बोलाएको छैन। न अगाडि बढ्ने ठाउँ छ, न त पछाडि हट्ने अवस्था छ। पब्लिकको ठूलो सहानुभूति भएको पार्टी लगभग कोमामा गयो,” उनले भने।
घिसिङले स्पष्ट पारे कि कार्यगत सहकार्य भने सम्भव छ, तर पार्टी मर्जर र एकता अब हुँदैन। उनले नयाँ शक्ति स्थापित गर्न नैतिकता र विश्वासको महत्व रहने बताए र अरुलाई अप्ठ्यारोमा पारेर राजनीति नगर्ने भन्दै शुभकामना मात्र दिने संकेत दिए।
उनको यो निर्णयले उज्यालो नेपाल पार्टीको भविष्य रणनीति स्पष्ट भएको छ। घिसिङको प्राथमिकता अब पार्टीलाई जनतामाझ मजबुत बनाउने र राजनीतिक भूमि विस्तार गर्ने रहेको छ।




