कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु



काठमाडौं, पुस २८ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्रका कार्यक्रम अघि बढ्न लागेका हुन् ।

महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार बिहानको खाजापछि बन्दसत्र सुरु गरिनेछ । ढिलोमा बिहान १० बजेदेखि बन्दसत्रका औपचारिक कार्यक्रम सञ्चालन हुने तयारी गरिएको छ । बन्दसत्रका लागि आवश्यक सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको सचिवालयले जनाएको छ ।

पार्टीभित्र देखिएका विभिन्न विवाद, संगठनात्मक कमजोरी तथा आगामी राजनीतिक कार्यदिशाबारे गम्भीर छलफल गर्ने उद्देश्यसहित विशेष महाधिवेशन आह्वान गरिएको हो । प्रतिनिधिहरूको मागअनुसार महामन्त्री गगन थापाको नेतृत्वमा यो विशेष महाधिवेशन बोलाइएको बताइएको छ ।

महाधिवेशनमा देशभरबाट २ हजार ६ सयभन्दा बढी प्रतिनिधिहरूले सहभागिताका लागि नाम दर्ता गराइसकेका छन् । बन्दसत्रमा सहभागी प्रतिनिधिहरूले पार्टीको वर्तमान अवस्था, आन्तरिक एकता, विधान कार्यान्वयन, संगठन सुदृढीकरण र भावी रणनीतिबारे आफ्ना धारणा राख्नेछन् ।

निर्धारित कार्यविधिका आधारमा बन्दसत्रका कार्यक्रम अघि बढाइनेछ । बन्दसत्रको सभापतित्व पार्टीका ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ । बन्दसत्रमा पार्टी नेतृत्वद्वारा नीतिगत तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

प्रतिवेदनमाथि समूहगत तथा व्यक्तिगत रूपमा छलफल हुने, सुझाव संकलन गरिने र आवश्यक परे संशोधनसहित निष्कर्ष निकालिने अपेक्षा गरिएको छ । पार्टीको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउने तथा संगठनलाई आगामी निर्वाचनका लागि तयारी अवस्थामा लैजाने विषयमा बन्दसत्र निर्णायक हुने नेताहरूले बताएका छन् ।

विशेष महाधिवेशनमार्फत पार्टीभित्र देखिएका असन्तुष्टि सम्बोधन गर्दै एकताबद्ध कांग्रेस निर्माण गर्ने लक्ष्य लिइएको जनाइएको छ ।

प्रकाशित मिति: २०८२ पुष २९, सोमवार ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको