काठमाडौं, पुस २९। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सहित पार्टीका झण्डै २५ सय केन्द्रिय सदस्यले शपथ लिएका छन्। संयोजक र सहसंयोजकले पार्टीका जेष्ठ सदस्य नन्दकुमार प्रसाईंबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।
शपथका क्रममा प्रचण्ड र नेपालले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन्। साथै पार्टी एकता जोगाउने, स्वच्छ र नैतिक आचरणयुक्त जीवन बिताउने तथा सबै किसिमका प्रतिक्रियावादी शक्ति, गलत विचार र व्यवहारविरुद्ध दृढतापूर्वक संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू एकताबद्ध भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो।
शपथ ग्रहणपछि जेष्ठ सदस्य प्रसाईंले संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई परिचयपत्र हस्तान्तरण गरेका छन्। आफु सपथ लिएपछि नवगठित पार्टीका केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका छन ।
पार्टीका २,४९९ केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराइएको हो । कार्यक्रम उपस्थित नरहेको सदस्यहरुको लागि भर्चुअल सपथको व्यवस्था समेत गरिएको थियो ।




