काठमाडौं, पुस २९। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर केन्द्रीय कार्यसमिति सदस्यहरूले आज बस्ने पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेका छन्।
आज बिहान ११ बजे बस्ने गरी पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिए पनि विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरूले बैठक बहिष्कार गर्ने निर्णय गरेको नेताहरूले बताएका छन्।
पार्टीको एक पक्षले विशेष महाधिवेशन अघि बढाएपछि कांग्रेसभित्रको विवाद थप चर्किएको छ। संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई अवैधानिक बताउँदै आएका छन् भने विशेष महाधिवेशन पक्षधरहरूले भने तत्काल नीति र नेतृत्व चयनको प्रक्रियामा अघि बढ्ने अडान लिएका छन्।
यसैबीच पार्टीभित्र देखिएको विवाद समाधानका लागि आजै दुवै पक्षबीच वार्ता हुने बताइएको छ। यद्यपि वार्ताको समय र स्थान भने अझै तय भइसकेको छैन।




