काठमाडौं, पुस ३० । सहमतिको प्रयास लगभग असफल भएपछि नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन हुने भएको छ। मंगलबार स्थगित गरिएको मनोनयन प्रक्रिया आज बिहान ८ बजेदेखि ९ बजेसम्मका लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन्।
कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उम्मेदवारी दर्ता प्रक्रिया खुला गरिएको थियो। तर उम्मेदवारी मनोनयनबाहेकका अन्य सबै कार्यतालिका बुधबारका लागि सारिएको निर्वाचन समितिले जनाएको छ।
पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पार्टीभित्र देखिएको आन्तरिक विवादका कारण लम्बिएको हो। संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच अहिलेसम्म दुई महत्वपूर्ण विषयमा सहमति जुट्न नसक्दा वार्ता निष्कर्षविहीन बनेको छलफलमा सहभागी नेताहरूले बताएका छन्।
नेताहरूका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति शेरबहादुर देउवा सक्रिय राजनीतिबाट अलग हुने प्रस्तावलाई संस्थापन पक्षले अस्वीकार गरेको छ। विशेष महाधिवेशन पक्षले देउवाको विश्रामले पार्टीभित्र नयाँ नेतृत्वलाई अघि बढ्ने अवसर मिल्ने दाबी गर्दै आएको छ।
यस्तै, प्रतिनिधिसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने व्यक्तिहरूको टिकटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्ताक्षर गर्नुपर्ने विषयमा पनि संस्थापन पक्ष सहमत नभएको जनाइएको छ। अधिकार हस्तान्तरणबिना पार्टी सुधार सम्भव नहुने विशेष महाधिवेशन पक्षको तर्क छ।
देउवाबाहेकको नेतृत्व संयन्त्र अर्थात् ‘हाइकमाण्ड’ बनाएर पार्टी सञ्चालन गर्ने प्रस्तावमा समेत कुरा नमिल्दा विशेष महाधिवेशन थप पेचिलो बन्दै गएको छ। सहमति नजुटेपछि कांग्रेसले आज उम्मेदवारी मनोनयन प्रक्रिया अगाडि बढाउँदै नेतृत्व चयनको औपचारिक चरणमा प्रवेश गरेको छ।




