कांग्रेसमा विधान विवादः महामन्त्रीद्वय थापा–शर्मासहित तीन नेता कारबाहीमा



काठमाडौं, पुस ३० । नेपाली कांग्रेसको देउवा पक्षीय केन्द्रीय कार्यसमितिले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ। तर कारबाही प्रक्रिया पार्टी विधानअनुसार पूरा नगरिएको भन्दै पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको छ।

सानेपामा बुधबार बसेको देउवा पक्षीय केन्द्रीय समिति बैठकले विधानको प्रक्रिया नअपनाई एकतर्फी रूपमा कारबाही गरेको आरोप लागेको छ। विधानअनुसार कारबाही अघि स्पष्टिकरण र सफाइको मौका दिनुपर्ने व्यवस्था भए पनि त्यसलाई बेवास्ता गरिएको नेताहरूको भनाइ छ।

विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै महामन्त्री गगन थापाले आफूमाथि गरिएको कारबाहीप्रति आपत्ति जनाउँदै कुनै पनि स्पष्टिकरण नसोधी निर्णय गरिएको बताए। “नेपाली कांग्रेस कसैको निजी कम्पनी होइन,” भन्दै उनले कारबाहीलाई चुनौती दिए।

पार्टीले विधानको धारा ३४(१) अनुसार अनुशासन उल्लंघन भएको दाबी गर्दै कारबाही गरिएको जनाएको छ। उक्त धारामा पार्टीको आदर्श, नीति, विधान, आचारसंहिता विपरीत गतिविधि गरेमा अनुशासन उल्लंघन मानिने व्यवस्था छ। पार्टी उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, असहयोग गर्नु वा पार्टीलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा क्षति पुर्‍याउने गतिविधि पनि अनुशासन उल्लंघनमा पर्छ।

तर विधानको धारा ३४ (८) मा कारबाहीअघि छानबिन, स्पष्टिकरण, सफाइ र कसुरअनुसार चेतावनी, निलम्बन वा निष्कासन गर्ने स्पष्ट प्रक्रिया उल्लेख छ। सोही धाराको उपदफा (घ) मा कारबाही गर्दा सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ दिने अवसरबाट बञ्चित गर्न नपाइने व्यवस्था गरिएको छ।

पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने विधानको धारा ३४(८)(ङ) अनुसार कारबाही गरिएको जानकारी दिएका छन्। उनले अनुशासन उल्लंघन भएको तथ्य विभिन्न माध्यमबाट पुष्टि भएकाले अपर्झट निर्णय लिनुपरेको बताए।

कारबाही अनुशासन समितिमार्फत नभई केन्द्रीय समितिबाट गरिएको छ। केन्द्रीय समितिले विधानको धारा २२(२०) र ५०(५) को व्याख्या गर्दै तत्काल निर्णय लिन सक्ने अधिकार प्रयोग गरिएको जनाएको छ। तर आरोपित नेताहरूलाई छानबिन र सफाइको अवसर नदिई गरिएको निष्कासनले पार्टीभित्र विधानको गम्भीर उल्लंघन भएको बहस चर्किएको छ।

यस घटनाले कांग्रेसभित्रको आन्तरिक संकट र नेतृत्व विवाद झन् गहिरिएको संकेत दिएको छ।

प्रकाशित मिति: २०८२ माघ १, बुधवार १८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको