पार्टी विभाजनतर्फ गयो, केन्द्रीय समितिले आवश्यक निर्णय गर्छ : पूर्ण बहादुर



काठमाडौं, पुस ३० । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजन को संघारमा पुगेको गम्भीर संकेत दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्नो कार्यकक्षमा भेला भएका नेता–कार्यकर्तालाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदै पार्टी अब फुटतर्फ अघि बढेको बताएका हुन्।

खड्काका अनुसार सभापति शेरबहादुर देउवाले सहमतिको प्रयासमा अधिकतम लचकता देखाए पनि महामन्त्रीहरू सहमत नहुँदा अवस्था जटिल बनेको हो। उनले वार्ताबाट समाधान निकाल्ने सबै प्रयास असफल भएपछि उम्मेदवारी मनोनयन प्रक्रिया नै सुरु भइसकेको उल्लेख गरे।

“अब पार्टी सहमतिबाट होइन, प्रक्रियाबाट अघि बढिसकेको छ,” खड्काले भने, “यसले पार्टीलाई विभाजनतर्फ धकेलेको छ।” उनले अब केन्द्रीय कार्यसमिति बैठक अघिल्लो दिनजस्तै रोकिने अवस्था नरहेको स्पष्ट गर्दै परिस्थितिअनुसार आवश्यक निर्णय लिन समिति स्वतन्त्र रहेको बताए।

विशेष महाधिवेशनको क्रममा नेतृत्व चयन, अधिकार हस्तान्तरण र आगामी निर्वाचन रणनीतिलगायत विषयमा सहमति नजुट्दा कांग्रेसभित्रको विवाद चर्किएको छ। सानेपामा खड्काको भनाइले पार्टीभित्रको आन्तरिक संकट थप सतहमा आएको विश्लेषण गरिएको छ।

आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसको आगामी दिशा तय गर्ने भएकाले त्यसतर्फ सबैको ध्यान केन्द्रित भएको छ। पार्टी एकतामा जाने कि औपचारिक विभाजनतर्फ उन्मुख हुने भन्ने प्रश्न निर्णायक मोडमा पुगेको देखिएको छ।

प्रकाशित मिति: २०८२ माघ १, बुधवार १२:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको