काठमाडौँ, माघ १ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता–कार्यकर्ताको शिर निहुरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन ।
विशेष महाधिवेशनस्थलमा आयोजित कार्यक्रममा नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति थापाले नेपाली कांग्रेसप्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्ने दृढ संकल्प व्यक्त गरे ।
“जुन विश्वासका साथ मलाई सभापतिको जिम्मेवारी दिनुभएको छ, त्यो विश्वासलाई कमजोर हुन दिने छैन,” उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको शान जोगाउनेछु । पार्टीका सबै साथीहरूले कांग्रेसको सदस्य भएकोमा गर्व गर्न सक्ने बनाउँछु । नागरिक अप्ठ्यारोमा पर्दा कांग्रेस साथमा छ भन्ने अनुभूति गराउने काम पार्टीले गर्नेछ।”
सभापति थापाले विशेष महाधिवेशनलाई कांग्रेसको इतिहास मात्र नभई आधुनिक नेपालको राजनीतिक इतिहासमै भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेपको रूपमा व्याख्या गरे । “भुइँ तहका कार्यकर्ता भनेका जनताका प्रतिनिधि हुन्,” उनले भने, “यो नागरिकले दलभित्र गरेको हस्तक्षेप हो।”

उनले विशेष महाधिवेशन वैधानिक प्रक्रियामार्फत सम्पन्न भएकाले पार्टी फुट्यो भन्ने प्रश्न नै नउठ्ने स्पष्ट पारे । नेपाली कांग्रेस कुनै हालतमा नफुट्ने उनको दाबी थियो ।
यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए ।









