काठमाडौँ, माघ २। निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिक मान्यता आफुहरुलाई नदिए देशव्यापी आन्दोलनमा जाने चेतावनी देउवा समूहका नेताहरुले दिएका छन ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोग गलत निर्णय गरे कांग्रेस चुप लागेर नबस्ने स्पष्ट पारे ।
“निर्वाचनआयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई विश्वास छैन,” खड्काले भने, “तर यदि आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ ।”
उनले त्यस्तो अवस्था आए गाउँगाउँ र वडावडाबाट चारतारे झण्डा लिएर सडकमा उत्रिने चेतावनी दिए । पार्टीको आह्वानमा देशभरका नेता, कार्यकर्ता तथा भ्रातृ–संघसंस्थालाई आन्दोलनमा सहभागी हुन निर्देशन दिइसकिएको खड्काको भनाइ छ ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विषय निर्वाचन आयोगमा पुगेको सन्दर्भमा खड्काले लोकतान्त्रिक मूल्य, पार्टी विधान र कानुनी आधारमा आयोगले निर्णय गर्ने अपेक्षा गरिएको बताए ।




