कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टी एकतालाई कामय राख्न अपिल गर्यो



काठमाडौं, माघ ३ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएको केही समयपछि आइतबार नयाँ बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको बैठकले यो निर्णय गरेको हो।

बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले भने, “पार्टीका अगाडि चुनौतीका पहाड रहेका छन्, त्यसैले एकतामा जोड दिने निर्णय भएको हो। जनतालाई नेपाली कांग्रेससँग जोड्नु छ र निर्वाचन पनि नजिक आइरहेको छ। पार्टीको एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्‍याउन हामी हार्दिक अपिल गर्छौं।”

बैठकले निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि पार्टी बलियो बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरेको छ। यसैगरी, निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ। चालिसेका अनुसार, देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्व उच्च मूल्यांकन योग्य रहेको छ।

“आगामी दिनमा हाम्रो पार्टीमा निवर्तमान सभापति देउवाको अभिभावकीय भूमिका रहनेछ भन्ने विश्वास हामीलाई छ,” प्रवक्ता चालिसेले थपे।

बैठकले प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा उम्मेदवार चयन प्रक्रिया पनि अघि बढाइएको जानकारी दिएको छ। पार्टीले आगामी निर्वाचनमा जनसंपर्क, संगठन सुदृढीकरण र क्षेत्रीय रणनीति समेत ध्यानमा राख्दै उम्मेदवार चयन र प्रचार–प्रसारमा गति दिने योजना बनाएको छ।

यस बैठकले कांग्रेसको आन्तरिक एकता, संगठनिक मजबुती र निर्वाचनमा प्रभावकारी सहभागिताका लागि स्पष्ट सन्देश दिएको छ। पार्टी स्रोतका अनुसार, आगामी दिनहरूमा पार्टी एकतालाई प्राथमिकता दिँदै सदस्य र कार्यकर्तासँग समन्वय गरी निर्वाचन तयारी तीव्र बनाइनेछ।

प्रकाशित मिति: २०८२ माघ ४, शनिवार १४:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको