ललितपुर, माघ ३ । नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष)ले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएको छ।
शनिबार सानेपामा बसेको देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठकले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ अघि बढाउन खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो। यसअघि शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई आधिकारिकता दिएको र देउवा नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गरेको थियो।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगले गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने, कानुनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्कालाई प्रदान गर्ने निर्णय गरिएको छ।”
देउवा पक्षले आयोगको निर्णय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत रहेको ठहर गरेको छ। बैठकले निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’बाट प्रेरित भएको निष्कर्ष निकालेको छ। विज्ञप्तिमा उल्लेख गरिएको छ, “विशेष महाधिवेशनको औचित्य, वैधानिकता र उपस्थित संख्या नहेरी एकलौटी निर्णय गरिएको आयोगको निर्णय दुषित मनसायले प्रेरित भएको ठहर गरिएको छ।”
पार्टीले यसलाई देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित समितिलाई अवैधानिक रूपमा परिवर्तन गर्ने प्रयास भएको आरोप लगाएको छ। बैठकले कानुनी उपचार खोज्ने र आयोगको निर्णयविरुद्ध राजनीतिक प्रतिवाद गर्ने योजना पनि बनाएको जनाएको छ।
देउवा पक्षले यस कदममार्फत पार्टीको आन्तरिक लोकतन्त्र, सदस्यता अधिकार र नेतृत्वको वैधानिकता सुनिश्चित गर्ने लक्ष्य राखेको छ। अब पूर्णबहादुर खड्काले सर्वोच्चमा मुद्दा दायर गरेर कानुनी प्रक्रिया अघि बढाउनेछन्।




