केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपामा जुट्दै देउवा पक्षका नेताहरू



काठमाडौं, माघ ३ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका केन्द्रीय कार्यसमिति सदस्यहरू केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा जुट्न थालेका छन्। शनिबार बिहानका लागि बोलाइएको बैठकमा सहभागी हुन नेताहरू क्रमशः पार्टी कार्यालय पुग्ने क्रम जारी रहेको छ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठक बिहान ८ बजेका लागि आह्वान गरिए पनि समाचार तयार पार्दासम्म औपचारिक रूपमा सुरु हुन सकेको छैन।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस पक्षलाई आधिकारिकता दिएपछि बस्न लागेको यो बैठकलाई राजनीतिक रूपमा निकै अर्थपूर्ण मानिएको छ। पार्टीभित्र विकसित पछिल्लो राजनीतिक अवस्था, सांगठनिक रणनीति, आगामी कार्यक्रम तथा कानुनी–राजनीतिक विकल्पबारे बैठकमा गम्भीर छलफल हुने नेताहरूले बताएका छन्।

सानेपा परिसरमा देउवा पक्षका नेताहरूको सक्रियता बढेसँगै कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी कदमबारे चासो बढेको छ। बैठकले पार्टीको भावी दिशा, आन्तरिक एकता तथा निर्वाचन आयोगको निर्णयपछि उत्पन्न परिस्थितिमा देउवा पक्षको आधिकारिक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

पार्टी स्रोतका अनुसार बैठकपछि औपचारिक निर्णयसहित पत्रकार सम्मेलनसमेत आयोजना हुन सक्ने सम्भावना छ। सानेपामा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने सञ्चारकर्मीहरूको उपस्थिति पनि उल्लेख्य देखिएको छ।

देउवा पक्षको यो बैठकले कांग्रेसभित्रको वर्तमान विवाद, नेतृत्वको वैधता र आगामी राजनीतिक रणनीतिमा महत्वपूर्ण सन्देश दिने अनुमान गरिएको छ।

प्रकाशित मिति: २०८२ माघ ४, शनिवार ११:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको