काठमाडौँ, माघ ३ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा अहिलेसम्म ३३ वटा सङ्घसंस्थाले सामाजिक विकास कार्यक्रमका लागि प्रस्ताव पेस गरेका छन्। विभागले लक्षित वर्गका कार्यक्रम सहयोग अन्तर्गत सार्वजनिक सूचना आह्वानमार्फत प्रस्ताव मागेको थियो।
विभागका प्रमुख समीक्षा निरौलाका अनुसार, सङ्घसंस्थाले ३० प्रतिशत लागत सहभागिता आफैंले बेहोर्ने गरी प्रस्ताव पेश गरेका छन्। प्रस्ताव पेस गर्ने संस्थाहरूले विगतमा गरेका काम, प्राप्त नतिजा, संस्था क्षमता, कार्यक्रमको प्रकृति र आवश्यकतालगायतका सूचकका आधारमा मूल्याङ्कन गरिने छ।
विभागले विभिन्न मितिमा सार्वजनिक सूचना प्रकाशन गर्दै विभिन्न लक्षित समूहका लागि प्रस्ताव मागेको थियो। गत पुस १ गते डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी, मस्कुलर डिस्ट्रोफी र मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि काम गर्ने संस्थाबाट १० वटा प्रस्ताव प्राप्त भएको थियो, जसका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ।
पुस १५ मा अटिजमसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्यक्रम गर्ने संस्थाबाट ६ वटा प्रस्ताव आएका थिए भने पुस १७ मा लैङ्गिक तथा यौनिक अल्पसंख्यक(एलजिविटिक्युआइ) समूहका लागि ८ वटा प्रस्ताव पेस भएका थिए। यसका लागि छुट्टै २० लाख रुपैयाँको सहयोग बजेट उपलब्ध गरिएको थियो।
यस्तै, पुस २२ मा अपाङ्गताका क्षेत्रमा काम गर्ने संस्थाबाट प्रस्ताव मागिएको थियो र केही संस्थाले आवेदन पेस गर्न बाँकी रहेको छ। ज्येष्ठ नागरिकका लागि काम गर्ने संस्थाबाट नौ वटा प्रस्ताव प्राप्त भएको छ, जसका लागि रु २० लाखको बजेट विनियोजन गरिएको थियो।
निरौलाका अनुसार, प्रस्ताव पेस गर्ने संस्थाले कम्तीमा रु ३ लाख ५० हजारदेखि बढीमा रु ८१ लाखसम्मको सहयोग प्रस्ताव पेश गरेका छन्। अब प्राप्त प्रस्तावको प्रस्तुतीकरणपछि मूल्याङ्कन गरी आवश्यक रकम वितरणको निर्णय प्रक्रिया अघि बढाइनेछ।




