धनकुटा, माघ ४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटा जिल्लामा खटिने निर्वाचन प्रहरीमा उल्लेख्य आवेदन परेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार निर्वाचन सुरक्षाका लागि कुल १ हजार १२६ जनाले आवेदन दिएका छन्, जुन माग गरिएको कोटाभन्दा ४१ जना बढी हो।
प्राप्त विवरणअनुसार नेपाल प्रहरीतर्फ १ हजार ३४ जना र सशस्त्र प्रहरी बलतर्फ ९२ जनाले आवेदन दिएका छन्। धनकुटा जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फ ९८९ जना र सशस्त्र प्रहरीतर्फ ९६ जना गरी कुल १ हजार ८५ जना निर्वाचन प्रहरीको कोटा निर्धारण गरिएको छ।
सरकारले प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरेको थियो। तोकिएको अवधिमा धनकुटा जिल्लाबाट मात्र ८७६ जनाको आवेदन परेपछि आवेदन संख्या न्यून देखिएकाले म्याद माघ ३ गतेसम्म थप गरिएको थियो।
थप गरिएको अवधिमा १५८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी तथा डिएसपी राजन कार्कीले जानकारी दिए। आवेदन संख्या बढाउन जिल्ला प्रहरी कार्यालयसँगै इलाका प्रहरी कार्यालय छिन्ताङ र राजारानीबाट समेत दरखास्त दिन सकिने व्यवस्था मिलाइएको थियो।

डिएसपी कार्कीका अनुसार माघ ५ गतेदेखि ९ गतेसम्म निर्वाचन प्रहरीको भर्ना छनोट प्रक्रिया सञ्चालन गरिनेछ। छनोट प्रक्रिया पूरा भएपछि माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ।
यस्तै, छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि प्रशिक्षण दिइने कार्यतालिका तय गरिएको छ। सरकारले निर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरीलाई प्रहरी जवानसरहकै सेवा सुविधा उपलब्ध गराउने र ४० दिनसम्म कार्यक्षेत्रमा खटाउने व्यवस्था गरेको छ।
जिल्ला प्रहरी प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न पर्याप्त सुरक्षा व्यवस्था मिलाइने जनाएको छ।







