राजीनामा बुझाएर घण्टीघर पुगे बालेन शाह, रास्वपामा प्रवेश तयारी



काठमाडौँ, माघ  ४ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्। उनले राजीनामा बुझाइसकेपछि पार्टी प्रवेशको औपचारिक प्रक्रिया पूरा गरेका हुन्।

उनसँगै जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका छन्। गुरुङले पनि आजै रास्वपा प्रवेश गर्ने जानकारी दिएका छन्। रास्वपा केन्द्रीय कार्यालयमा उनीहरूको स्वागतका लागि नेता र कार्यकर्ताको बाक्लो उपस्थिती देखिएको छ।

बालेन शाह केन्द्रीय समितिको बैठकमा सहभागी भएर प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारबारे छलफल गर्ने तयारीमा छन्। बैठकपछि उनी रास्वपा सभापति रवि लामिछानेसहित आजै जनकपुर जाने कार्यक्रम तय भएको छ। जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै बालेन आफ्नो निर्वाचन अभियानको सुरुवात गर्नेछन्।

राजनीतिक विश्लेषकहरूले बालेन शाहको रास्वपा प्रवेश र झापा–५ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीलाई पार्टीको राष्ट्रिय रणनीति र निर्वाचन समीकरणमा निर्णायक कदमको रूपमा मूल्यांकन गरेका छन्। बालेनले मेयर पदमा रहेर काठमाडौंमा डिजिटल सेवा, पूर्वाधार विकास, सुशासन र नागरिक सहभागिता जस्ता महत्वपूर्ण काम गरेका थिए।

बालेन शाहको राजीनामा पछि काठमाडौं महानगरपालिकाको कार्यबाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले सम्हालेकी छन्। यस कदमले स्थानीय प्रशासन मात्र नभई रास्वपा पार्टीको निर्वाचन रणनीतिमा पनि महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

विश्लेषकहरूले बालेनको पार्टी प्रवेश र आगामी निर्वाचन अभियानले मधेश–तराई क्षेत्रका राजनीतिक समीकरणमा पनि गहिरो प्रभाव पार्ने बताउँदै आएका छन्।

प्रकाशित मिति: २०८२ माघ ५, आइतवार १६:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको