काठमाडौँ, माघ ४ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणमा असहमति जनाएका नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका छन्।
हिजो(शनिबार) बसेको सचिवालय बैठकले देशका १४० क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको थियो। तर यस निर्णयमा असहमति जनाउँदै उपमहासचिव भट्टराईले नोट अफ डिसेन्ट लेख्ने निर्णय गरेका थिए। आइतबार उनले पार्टी कार्यालय पुगेर औपचारिक रूपमा नोट दर्ता गराएका हुन्।
एमाले कार्यालय स्रोतका अनुसार भट्टराईले विभिन्न चार बुँदामा असहमति राखेका छन्। उनी टिकट वितरणमा मापदण्ड पालना नभएको, उम्मेदवार चयनको क्रममा पक्षपात देखिएको, कार्यकर्तामाथि अन्याय भएको र बाह्य चुनौतीलाई ध्यान नदिइएको मुद्दा उठाएका छन्।
विशेषगरी ताप्लेजुङ क्षेत्रका उम्मेदवारबारे पार्टीले टुंगो नलगाएको र त्यस क्षेत्रमा चुनावी रणनीति प्रभावकारी नभएकोमा भट्टराईले असन्तुष्टि देखाएका हुन्। यस विषयमा सामाजिक सञ्जालमार्फत् उनले समर्थकहरूलाई विचलित नहुन अपिल समेत गरेका छन्।

भट्टराईले लेखेका छन्, “निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।”
राजनीतिक विश्लेषकहरूले भट्टराईको नोट अफ डिसेन्टलाई पार्टी भित्रको लोकतान्त्रिक प्रक्रिया र टिकट वितरणमा पारदर्शिता सुनिश्चित गर्ने कदमको रूपमा हेरेका छन्। आगामी निर्वाचनमा एमालेले यो असहमति व्यवस्थापन गरेर आन्तरिक एकता कायम राख्नुपर्ने चुनौती रहेको बताइएको छ।







