बुटवल , माघ ४ । तत्कालीन नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहिसकेका कुलप्रसाद केसीले दाङ निर्वाचन क्षेत्र नं. १ बाट टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिने चेतावनी दिएका छन्। नेपाली कम्युनिस्ट पार्टीले उक्त क्षेत्रमा मेटमणि चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि केसी असन्तुष्ट बनेका हुन्।
बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले पार्टीले अन्तिम समयसम्म आफूलाई बेवास्ता गरे स्वतन्त्र रूपमा निर्वाचन मैदानमा उत्रिने स्पष्ट संकेत दिएका छन्। “आज दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम टुंगो लाग्ने भनिएको छ। त्यो समयसम्म मैले टिकट नपाए स्वतन्त्र उम्मेदवारी दिन बाध्य हुनेछु,” केसीले भने।
लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको भालुबाङ सार्ने निर्णयमा केसीले अग्रणी भूमिका खेलेका थिए। तत्कालीन मुख्यमन्त्रीको हैसियतमा उनले प्रदेश संरचना सुदृढ गर्न महत्त्वपूर्ण पहल गरेको उनका समर्थकहरूको भनाइ छ। यही योगदानको आधारमा आफूले दाङ–१ बाट उम्मेदवारी पाउनुपर्ने केसीको दाबी छ।
केसी २०७४ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित भई लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदै मुख्यमन्त्री बनेका थिए। पार्टीभित्र प्रभावशाली नेताका रूपमा परिचित भए पनि २०७९ सालको निर्वाचनमा भने उनले टिकट पाउन सकेका थिएनन्।
दाङ–१ मा उम्मेदवार छनोटलाई लिएर पार्टीभित्र असन्तोष बढ्दै गएको देखिन्छ। केसीको सम्भावित स्वतन्त्र उम्मेदवारीले गठबन्धन र पार्टी रणनीतिमा असर पार्न सक्ने आँकलन गरिएको छ। अब केही घण्टाभित्र पार्टीको निर्णय आउने र त्यसले दाङ–१ को राजनीतिक समीकरण स्पष्ट हुने अपेक्षा गरिएको छ।






