काठमाडौं, माघ ४ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै प्रतिनिधि सभाको प्रत्यक्षतर्फ टिकट वितरण गरेपछि पार्टीभित्र इतर पक्षको असन्तुष्टि बढ्दै गएको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले अधिकांश उम्मेदवार टुंग्याएको हो ।
बैठकपछि उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको सूचीअनुसार अध्यक्ष ओली झापा–५ बाट पुनः उम्मेदवार हुनेछन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ र गोकर्ण बिष्ट गुल्मी–२ बाट उम्मेदवार बन्ने भएका छन् । उपमहासचिव भट्ट कैलाली–४ तथा रघुवीर महासेठ धनुषा–४ बाट चुनाव लड्नेछन् ।
तर अर्का उपमहासचिव योगेश भट्टराईको विषयमा भने निर्णय हुन सकेन । ताप्लेजुङ क्षेत्र खाली राखिएको छ । स्रोतका अनुसार भट्टराईले टिकट वितरण प्रक्रियामै असहमति जनाएका छन् । यसअघि फरक समूहबाट निर्वाचित नेताहरुलाई प्राथमिकतामा नराखिएको भन्दै पार्टीभित्र आलोचना भइरहेको छ ।
ईश्वर पोखरेल, विनोद ढकाल, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठलगायत इतर समूहका नेताहरुले टिकट नपाएपछि ओलीले एकलौटी निर्णय गरेको आरोप चुलिएको छ । पार्टीभित्र मापदण्डविना टिकट बाँडिएको भन्दै संगठनात्मक एकतामा असर पर्ने चिन्ता व्यक्त गरिएको छ ।

कतिपय पदाधिकारीहरु आफ्नै निर्वाचन क्षेत्र छाडेर सुरक्षित क्षेत्र खोज्न थालेको आरोप पनि छ । यसले पार्टीभित्र गुटगत प्रतिस्पर्धा अझ तीव्र हुने संकेत देखिएको छ ।
नेताहरुका अनुसार टिकट वितरणमा सन्तुलन नअपनाइए आगामी चुनावमा एमालेको एकताबद्ध छवि कमजोर पर्न सक्ने खतरा बढेको छ । पार्टी नेतृत्वले असन्तुष्ट पक्षलाई समेट्ने रणनीति नअपनाए आन्तरिक द्वन्द्व अझ चर्किने अनुमान गरिएको छ ।







