काठमाडौँ, माघ ४ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेको छ। पार्टीले निर्वाचन क्षेत्रका टिकट प्रदेश इन्चार्जहरूलाई पठाउने व्यवस्था गर्ने तथा प्रचार–प्रसारलाई प्रभावकारी बनाउन १०१ सदस्यीय बृहत समिति गठन गर्ने निर्णय गरेको छ।
पार्टीको अध्यक्ष परिषद्को बैठक आइतबार केन्द्रीय कार्यालय सुविधानगरमा अध्यक्ष सन्तोष परियारको अध्यक्षतामा सम्पन्न भयो। बैठकले स्थानीय परिस्थितिलाई मूल्याङ्कन गर्दै निर्वाचन क्षेत्रको सापेक्षता अनुसार घोषित र अघोषित दुवै किसिमको तालमेल गर्न प्रोत्साहन गर्ने निर्णय गरेको छ।
निर्वाचन प्रचार–प्रसारको संयोजनका लागि अध्यक्ष परिषद्का सदस्य सन्तोष परियारको नेतृत्वमा १०१ सदस्यीय समिति गठन गरिएको छ। समितिमा प्रदेश इन्चार्ज तथा सह–इन्चार्ज, अध्यक्ष परिषद् सदस्य, केन्द्रीय समिति सदस्य, प्रचार–प्रसार र आईटी विभागका प्रमुख तथा अन्य जनवर्गीय सङ्गठनका प्रतिनिधि रहनेछन्।
बैठकले विदेश प्रदेशतर्फ यूएईबाट रोशन देव र अमेरिकाबाट मोहन कुसारीलाई अध्यक्ष परिषद्मा थप गर्ने निर्णय पनि गरेको छ। यससँगै पार्टीले बैंक व्यवस्थापनलाई पनि व्यवस्थित बनाउने योजना बनाएको छ। पार्टीको नाममा वाणिज्य बैंकमा खाता खोल्ने, ई–बैंकिङ र क्यूआर कोड सुविधा उपलब्ध गराउने तथा खाताको सञ्चालनका लागि अध्यक्ष परिषद् सदस्य दुर्गा सोब, सन्तोष परियार र ओजस्वी भट्टराईमध्ये कुनै दुई जनाको संयुक्त हस्ताक्षर आवश्यक हुने व्यवस्था गरिएको छ।
पार्टीका नेता अनुसार यस कदमले निर्वाचन तयारीलाई व्यवस्थित बनाउने, प्रचार–प्रसारलाई दुरुस्त गर्ने र तालमेललाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा पार्टीको रणनीति र तयारीलाई थप बलियो बनाउने उद्देश्यले यो निर्णय गरिएको हो।




