काठमाडौं , माद्य ५ । नेपाली कांग्रेसका १० जना प्रभावशाली नेताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनीहरूले पार्टीभित्र पुस्तान्तरण, रूपान्तरण र संगठन सुदृढीकरणमा योगदान दिन निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय सार्वजनिक गरेका हुन् ।
निर्वाचन नलड्ने घोषणा गर्नेमा विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्मा प्रमुख छन् । २०७४ सालमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएका शर्माले आफू सक्रिय राजनीतिमा रहेर पार्टी संगठन र नीति निर्माणमा केन्द्रित हुने बताएका छन् ।
त्यस्तै, पूर्वमन्त्रीसमेत रहेका हृदयराम थानी, दिलेन्द्र प्रसाद बडू र डा। नारायण खड्काले विज्ञप्ति जारी गर्दै निर्वाचन नलड्ने स्पष्ट पारेका छन् । यी नेताहरू विगतमा पटक–पटक प्रत्यक्ष निर्वाचन जित्दै संसदीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।
यसैगरी, बलबहादुर केसीले आफ्नै जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थितिमा निर्वाचन नलड्ने घोषणा गरेका छन् । काभ्रेका नेता शिव हुमागाईंले पनि डा। शेखर कोइराला समूहको भेलामा उम्मेदवारी नदिने बताएका हुन् ।
जेनजी आन्दोलनका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बद्री पाण्डेले प्रतिनिधिसभा प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभातर्फ कुनै पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् । आन्दोलनका माग समयमै सम्बोधन गर्न नसकिएको अनुभूति भएकाले आफू उम्मेदवार नहुने पाण्डेको भनाइ छ ।
काठमाडौं क्षेत्र नम्बर १० बाट लगातार तीन पटक निर्वाचित राजेन्द्रकुमार केसीले पनि निर्वाचन नलड्ने निर्णय सार्वजनिक गरेका छन् । पार्टीमा पुस्तान्तरण आवश्यक भएको उल्लेख गर्दै उनले आफूबाटै त्यसको सुरुवात गर्न चाहेको बताएका छन् ।
त्यस्तै, दोलखाका नेता जिपछिरिङ लामा र पूर्व कृषिमन्त्री तथा धादिङ कांग्रेस सभापति रामनाथ अधिकारीले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
कांग्रेसका यी नेताहरूको निर्णयलाई पार्टीभित्र नयाँ नेतृत्व अघि सार्ने सकारात्मक संकेतका रूपमा हेरिएको छ ।






