काठमाडौँ, माघ ५ । मेडिकल व्यवसायी तथा ‘नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन्। निर्वाचनसम्बन्धी गम्भीर आरोप लगाएको भिडियो सार्वजनिक गरेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
निर्वाचन आयोगको अनुरोधपछि प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौं ले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका थिए। सोही क्रममा प्रसाईं पोखरामा रहेको सूचनाका आधारमा पक्राउ परेका हुन्।
प्रसाईंले केही दिनअघि सार्वजनिक गरेको भिडियोमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले ५२ करोड रुपैयाँ बुझाएर निर्वाचन परिणाम आफ्नो पक्षमा पारेको दाबी गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो, जसले निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण भएको थियो।
आयोगले प्रसाईंको अभिव्यक्ति निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामाथि आघात पुर्याउने खालको भएको ठहर गर्दै छानबिन आवश्यक देखिएको जनाएको छ। सोही आधारमा आयोगले प्रहरीका सम्बन्धित निकायलाई पत्राचार गर्दै आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको थियो।
प्रसाईंमाथि निर्वाचन कसुरसम्बन्धी ऐन तथा मुलुकी फौजदारी संहिता अन्तर्गत कारबाही हुनुपर्ने मागसमेत उठाइएको छ। प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानपछि उनलाई काठमाडौं ल्याएर थप बयान लिने तयारी भइरहेको छ।
यता, प्रसाईं निकट पक्षले भने पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै निष्पक्ष अनुसन्धानको माग गरेका छन्। उनीहरूले प्रसाईंले उठाएका विषयहरूमा सत्यता खोजिनुपर्ने र अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुनुपर्ने बताएका छन्।
निर्वाचनको संवेदनशील समयमा सार्वजनिक अभिव्यक्तिले सामाजिक तथा राजनीतिक असर पार्ने भएकाले यस विषयलाई कानुनी दायरामा रहेर अनुसन्धान गरिने प्रहरीको भनाइ छ। अबको अनुसन्धान प्रक्रियाले यो प्रकरणले कस्तो मोड लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।




