जनकपुरधाम, माघ ५ । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रदीप यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्। केही दिन अघि मात्र अशोक राइ नेतृत्वको जसपा परित्याग गरि जसपा नेपाल प्रवेश गरेका यादव जसपा नेपालबाट टिकट नपाउने संकेत पाए पछि एमालेमा प्रवेश गरेका हुन ।
गएराति एमालेमा समाहित भएका यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर पार्टीमा स्वागत गरे। यादवसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित उनका समर्थक नेता तथा कार्यकर्ताहरू पनि एमाले प्रवेश गरेका छन्।
यादव केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री रहेका थिए। गत भदौ २३–२४ मा भएको ‘जेनजी युवा आन्दोलन’पछि उनी ओलीसँगै पदमुक्त भएका थिए।
आन्दोलनपछि यादवले अशोक राई नेतृत्वको जसपा परित्याग गरी उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरेका थिए। पछिल्लो समय उनी जसपा नेपालका समन्वय समिति सदस्यका रूपमा सक्रिय थिए। स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले उनलाई सो पर्सा २ बाट टिकट दिने आश्वासनसमेत दिइसकेका छन्।




