सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ८२ हजार पुग्यो



काठमाडौं , माद्य ५ । नेपाली बजारमा सुनको भाउले सोमबार ऐतिहासिक नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ८२ हजार रुपैयाँ पुगेको हो ।

अघिल्लो कारोबार दिन अर्थात् आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । एकै दिनमा यति ठूलो मूल्यवृद्धि भएपछि सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ । यसअघि गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेर तत्कालीन उच्च रेकर्ड बनाएको थियो, जुन सोमबार तोडिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै जानु, डलरको उतारचढाव, विश्वव्यापी आर्थिक अनिश्चितता र लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षणले नेपाली बजारमा पनि सुनको भाउ बढेको व्यवसायीहरू बताउँछन् । पछिल्लो समय वैदेशिक बजारमा सुनको माग बढ्नुले यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको देखिन्छ ।

यसैबीच, चाँदीको भाउले पनि सोमबार उल्लेखनीय वृद्धि गर्दै नयाँ रेकर्ड नजिक पुगेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।

यसअघि चाँदीको मूल्य गत बुधबार प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेर हालसम्मकै उच्च रेकर्ड बनाएको थियो । यद्यपि सोमबारको मूल्य सो रेकर्डभन्दा केही कम भए पनि चाँदीको भाउ उच्च स्तरमै रहेको देखिन्छ ।

सुनचाँदीको मूल्य लगातार बढ्दै जाँदा उपभोक्तामा असर परे पनि लगानीकर्ताका लागि भने यो आकर्षक विकल्प बनेको छ । व्यवसायीहरूका अनुसार आगामी दिनमा पनि अन्तर्राष्ट्रिय बजारको अवस्थाअनुसार सुनचाँदीको मूल्य अझै उतारचढाव हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०८२ माघ ६, सोमवार ११:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको