सप्तरी, माघ ५ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले सरुवा तथा औषधीको विषयलाई लिएर भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने आफ्ना कर्मचारीलाई कार्वाही गर्ने भएको छ ।
औषधि निकासा नै नगरी औषधि बुझिलिएको भर्पाई गराउन खोजेको केही कर्मचारीले लगाएको आरोपको खण्डन गर्न नगरपालिकाका जनप्रतिनिधी र प्रमुख प्रशासकीय अधिकृतले सोमबार पत्रकार सम्मेलन गरेको छ । र, त्यस क्रममा भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई कार्वाही गर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा नगर प्रमुख रामलखन मलाह र प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डलले जारी गरेको विज्ञप्तीमा अब भ्रामक अभिव्यक्ति तथा टिकाटिप्पणी गर्ने कर्मचारीलाई आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाइने उल्लेख गरिएको छ ।
स्वास्थ्य शाखाका सहसंयोजक महेश कुमार पण्डितले औषधि निकासा नै नगरी बुझिलिएको भपाई गराउन खोजेको कुरा कपोकल्पित, झुठा रहेको र स्वास्थ्य शाखाबाट खरीद भएको औषधि तथा सर्जिकल सामग्रीको भपाई पीएएमएस भी२ विधि अनलाइन माध्यमबाट माग फारम, खरीद आदेश, दाखिला र हस्तान्तरण फारम समेत यसै सफ्टवेयरबाट मात्र संचालन भएको हुँदा त्यसमा कुनै पनि किसिमको गलत भपाई गराउन नसकिने व्यवस्था रहेको विज्ञप्तीमा जनाइएको छ ।
नगरपालिकाका केही स्वास्थ्यकर्मीले एक साता अघि पत्रकारै सम्मेलनको आयोजना गरी औषधि खरीद नगरेपनि आफूहरुसँग बु्झाएको भर्पाई माग गरेको र नदिँदा सरुवा गरेको आरोप लगाएका थिए ।
सोमबार नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सफ्टवेयरबाट मात्रै संचालन हुने उक्त प्रकृयाबिरुद्ध कर्मचारीले बोलेको भनाईमा कुनै सत्यता नरहेको र दुःख दिने मनसाय समग्रमा सरुवा टार्ने बहाना मात्रै बनाउन खोजेको देखिन्छ ।’
सेवाहरुलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउन, बिभिन्न समयमा कर्मचारीको सेवा, नियमितता तथा सेवा÷संस्था व्यवस्थापन सम्बन्धी जनता÷सेवाग्राहीबाट प्रत्यक्ष रुपमा साथै कर्मचारी÷जनप्रतिनिधीबाट प्राप्त गुनासोलाई सम्बोधन गर्न र लामो समयदेखि एउटै स्थानमा कार्यरत कर्मचारीलई भिन्न–भिन्न वडाहरुको कार्य अनुभव दिलाउनका लागि प्रचलित ऐन, कानुनको परिभिभित्र रही कुनै किसिमको पक्षपात, पूर्वाग्रह तथा राजनीतिक आस्थाको आधारमा नपरी सरुवा गर्दै कामकाज गर्नेगरी खटाउने तथा कामकाजमा रहेकाहरुलाई काज फिर्ता गरिएको विज्ञप्तीमा उल्लेख छ ।
निश्चित अवधीको कार्य सम्पादान मूल्यांकनको आधारमा हुने कर्मचारीको स्तरबृद्धि प्रचलित कानुन अनुसार नै हुने गरेको र यसमा लेनदेन र पहुँचको आधारमा सम्भावना नै नभएको अवस्थामा लगाइएको आरोप कपोकल्पित र निराधार छ’ विज्ञप्तीमा भनिएको छ ।’
इबिडिङ मार्फत ठेक्का गरी औषधि खरीद गरिसकिएको र अबको एक साताभित्रै पालिकाको सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा औषधि तथा सर्जिकल सामग्री हस्तान्तरण गरिने पत्रकार सम्मेलनमा स्वास्थ्य शाखाका सहसंयोजक महेश कुमार पण्डितले जानकारी दिए ।






