राजीनामा दिएर रास्वपाबाट चुनाव लड्दै मन्त्री जगदीश खरेल



काठमाडौँ, माघ  ५ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल ले मन्त्री पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन्। खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी मैदानमा उत्रिन लागेका हुन्।

स्रोतका अनुसार खरेलले सोमबार केहीबेरमै मन्त्री पदबाट राजीनामा दिने र त्यसपछि रास्वपाको टिकट लिने तयारी गरेका छन्। ललितपुर बालकुमारीका स्थायी बासिन्दा रहेका खरेलले ललितपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने निश्चितजस्तै भएको बताइएको छ। यसबारे जानकारी दिन उनले आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।

रातोपाटीसँग कुरा गर्दै स्रोतले भन्यो, “लगभग उहाँको उम्मेदवारी निश्चित भइसकेको छ। ललितपुर–२ बाट नै चुनाव लड्नुहुन्छ।”

खरेल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन गराउने जिम्मेवारीसहित सुशीला कार्की नेतृत्वको सरकार मा सहभागी भएका थिए। सरकारमा रहँदा उनी रास्वपाप्रति निकट रहेको आरोप लाग्दै आएको थियो। यही कारण प्रधानमन्त्री कार्कीले उनलाई मन्त्री पदबाट राजीनामा दिन सुझाव दिएको स्रोतको दाबी छ।

यसअघि पनि वर्तमान सरकारका केही मन्त्रीहरूले निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिइसकेका छन्। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता ले सोमबार नै राजीनामा दिएका थिए भने यसअघि उर्जामन्त्री कुलमान घिसिङ ले पनि पद त्याग गरिसकेका छन्।

राजनीतिमा स्पष्ट धारणा र प्रशासनिक अनुभव भएका खरेलको रास्वपाबाट उम्मेदवारीले ललितपुर–२ को निर्वाचन प्रतिस्पर्धा थप रोचक हुने विश्लेषण गरिएको छ। रास्वपाले स्थापित दलका नेताहरूलाई चुनौती दिने रणनीति अन्तर्गत खरेललाई अघि सारेको बताइएको छ।

निर्वाचन नजिकिँदै जाँदा मन्त्रीहरूको राजीनामा र नयाँ दलबाट उम्मेदवारी दिने क्रमले राष्ट्रिय राजनीति थप तातिँदै गएको छ।

प्रकाशित मिति: २०८२ माघ ६, सोमवार १७:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको