सप्तरीमा उम्मेदवारी दर्ता उत्साहपुर्ण



सप्तरी, माघ ६ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपुर्वक उम्मेदवारी दर्ता गराएका छन् ।

चारवटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा क्षेत्र नम्बर १ को कञ्चनरुप नगरपालिका, क्षेत्र नम्बर २ को राजविराज नगरपालिका, क्षेत्र नम्बर ३ को शम्भुनाथ नगरपालिका र क्षेत्र नम्बर ४ को खडक नगरपालिका स्थित निर्वाचन कार्यालयमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले उत्साहपुर्वक उम्मेदवारी दर्ता गराएका हुन् ।

राजविराज स्थित मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको जानकारी अनुसार प्रत्यक्ष तर्फ ४ पदका लागि हुने निर्वाचनमा ठुलो संख्यामा उम्मेदवारी परेको छ ।

साँझ सम्म सबै तथ्यांक आइसकेपछि यकिन संख्या भन्न सकिने मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए ।

विहान ११ बजे देखि ५ बजे सम्म मनोनयन दर्ताका लागि आउनेक्रम सुरु भएको थियो । कतिपय उम्मेदवार घरमै पुजापाठ त कतिपयले मनोनयन दर्ता नजिकै रहेको मन्दिरमा पुगेर पुजापाठ र साइत देखाएर मनोनय दर्ता कक्षमा प्रवेश गरेका थिए ।

सप्तरीको सर्वाधिक चर्चामा रहेको सदरमुकाम राजविराज समेत पर्ने निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका तर्फबाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नेपाली काँग्रेसबाट जिल्ला उपसभापति रामकुमार यादव, नेकपा एमालेबाट मुस्लिम अगुवा यूवा मो.जियाउल रहमान, जसपा नेपालबाट हालै नेकपा परित्याग गरेका पूवमन्त्री उमेश कुमार यादव, नेकपाबाट सूर्यनाथ यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाली जनता पार्टीबाट विघटीत प्रतिनीधी सभा सदस्य रञ्जु ठाकुर, उज्यालो नेपाल पार्टीबाट डा.दिपक चौधरी, राप्रपाबाट अजय दास र लोजपाबाट बलराम यादवले उम्मेदवारी दर्ता गराएका छन् । जनमत पार्टीबाट हालै छुटिएर बनेको जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह यादव समेतले यसै क्षेत्रबाट उम्म्ेदवारी दर्ता गराएका छन् ।

यस्तै राष्ट्रिय मुक्ति पार्टीबाट अनिस अन्सारी, नेमकिपाबाट निलम कुमारी यादव, आजपाबाट सुनिलराज दास, नेपालका लागि नेपाली पार्टीबाट इनसागर गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् ।

यसक्षेत्रबाट २०७९ को निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा.सिकेराउत विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्दी रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यदवलाई दोब्बर मतान्तरले पराजित गरेका थिए ।

उपेन्द्र यादवले भने यस पल्ट यो क्षेत्रलाई छाडेर सप्तरी कै निर्वाचन क्षेत्र न ३ रोजेका छन । उक्त क्षेत्रबाट अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका दिनेश कुमार यादव निर्वाचित भएका थिए । दिनेश यादव पनि यस पल्ट उक्त क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार छन ।

यस्तै क्षेत्र नं.१ बाट नेपाली काँग्रेसका रामदेव साह, एमालेका सुमनराज प्याकुरेल, नेकपाका सागर चौधरी, रास्वपाका पुष्पा चौधरी, स्वभिमान पार्टी सुमित साह, जनमत पार्टी डा.जयकान्त राउत, जसपा नेपाल श्याम सरदार, उज्यालो नेपाल पार्टी हर्ख नारायण चौधरीले उम्मेदवारी दर्ता गराएका छन । यस्तै नेपाल जनता पार्टीका दीपेन्द्र यादव, राप्रपाबाट सत्यजित कुमार झाले उम्मेदवारी दर्ता गराएका छन् ।

सप्तरीको क्षेत्र नंंं.३ बाट नेपाली काँग्रेसका दिनेश यादव, एमालेका ताराकान्त चौधरी, जसपा नेपालका उपेन्द्र यादव, नेकपाका अरुण कुमार साह, रास्वपाका अमरकान्त चौधरी, जनमतका सुरेन्द्र शर्मा मधेशी, उज्यालो नेपाल पार्टीका परमेश्वर साह, नेपाल जनता पार्टीका डा. सन्तोष कुमार चमन, राष्ट्रिय मुक्ति पार्टीका गजेन्द्र मंडल, राप्रपाका उम्देश्वर प्रसाद साहले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै क्षेत्र नं.४ बाट नेपाली काँग्रेसका तेजुलाल चौधरी, एमालेका बालकृष्ण चौधरी, जसपा नेपालका डा.बवि सिंह यादव, रास्वपाका सिताराम साह, नेकपा रुबी कर्ण, जनमतका जितेन्द्र कुमार साह, उज्यालो नेपाल पार्टीका विसो कुमार यादव, नेपाल जनता पार्टीका कौशल किशोर दास, राप्रपाका रुपकुमार न्यौपाने र राष्ट्रिय मुक्ति पार्टीका रामाकान्त चौधरी (रविन्द्र) ले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति: २०८२ माघ ७, मंगलवार १८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको