अन्ततः कांग्रेसमा गगन सर्वस्वीकार्य, सबैले स्वीकारे हस्ताक्षर



जनकपुरधाम, माघ ६ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा अन्ततः पार्टीभित्र सर्वस्वीकार्य भएका छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएलगत्तै कांग्रेसभित्र उत्पन्न विवाद अब मत्थर बन्दै गएको देखिन्छ।

शेरबहादुर देउवा र शेखर कोइराला समूहले गगन थापाको नेतृत्व असंवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए। तर आयोगले गगन थापालाई नै आधिकारिक सभापति मान्यता दिएपछि कांग्रेसभित्र ठूलो हलचल मच्चिएको थियो।

आयोगको निर्णयपछि देउवा–कोइराला पक्षका केही नेताहरूले गगन थापाको हस्ताक्षरमा चुनाव नलड्ने घोषणा समेत गरेका थिए। उनीहरूले सर्वोच्च अदालतको ढोका पनि ढकढकाएका थिए। तर उम्मेदवारी दर्ताकै दिन माघ ६ गते सर्वोच्चले पेशी तोकेपछि उक्त समूह थप दबाबमा परेको थियो।

उक्त अवस्थामा उनीहरूसामु दुई विकल्प मात्रै बाँकी रहे—गगन थापाको हस्ताक्षरमा टिकट लिएर रुख चिह्नमा चुनाव लड्ने वा वैकल्पिक राजनीतिक बाटो रोज्ने। अन्ततः पार्टी एकता र व्यवहारिक राजनीतिक आवश्यकतालाई ध्यानमा राख्दै सबै पक्ष गगन थापाको हस्ताक्षर स्वीकार्न बाध्य भएका हुन्।

गगन थापाले यसअघि नै सबै समूहलाई समेटेर टिकट वितरण गर्ने सार्वजनिक अपील गरेका थिए। यद्यपि संशय कायम रहे पनि अन्ततः कांग्रेसका सबै उम्मेदवारहरू गगनको हस्ताक्षरसहित चुनावी मैदानमा होमिएका छन्।

यसले नेपाली कांग्रेसमा तत्कालीन रूपमा एकताको सन्देश दिएको छ। यद्यपि सर्वोच्च अदालतमा दायर रिट भने यथावत् रहेको छ। अदालतको अन्तिम फैसला जे आए पनि हालका लागि गगन थापा पार्टीभित्र सर्वस्वीकार्य नेताका रूपमा स्थापित भएका छन्।

प्रकाशित मिति: २०८२ माघ ७, मंगलवार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको