देउवा पक्षको रिटमा आएन अन्तरिम आदेश , गगनलाई बाटो खुला 



काठमाडौं, माघ ६ । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेन। यससँगै निर्वाचन आयोगको निर्णयअनुसार गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई तत्कालका लागि बाटो खुलेको छ।

तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमाथि आज न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो। तर अदालतले आज अन्तरिम आदेश जारी नगरी दुवै पक्षलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ।

अन्तरिम आदेश नआएपछि निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिँदै गरेको निर्णय यथावत् रहने भएको छ। आयोगले गगन थापा नेतृत्वको कार्यसमिति अद्यावधिक गरिसकेको छ।

यसै निर्णयका आधारमा गगन थापाले प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवारको टुंगो लगाइसकेका छन्। अदालतको अन्तरिम आदेश नआउँदा कांग्रेसको चुनावी प्रक्रिया अघि बढ्न कुनै कानुनी अवरोध नरहेको देखिएको छ।

यद्यपि सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको हुँदा रिटको अन्तिम टुंगो भने बाँकी नै रहेको छ। अदालतको अन्तिम फैसलाले कांग्रेसको आन्तरिक विवादमा दीर्घकालीन असर पार्ने अपेक्षा गरिएको छ।

हालका लागि भने गगन थापा नेतृत्वको कांग्रेसले निर्वाचन आयोगको मान्यतासहित चुनावी गतिविधि निरन्तर अघि बढाउने बाटो खुलेको छ।

प्रकाशित मिति: २०८२ माघ ७, मंगलवार १७:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको