रूपन्देहीमा १५७ जनाको उम्मेदवारी, ६४ जना स्वतन्त्र लड्दै



बुटवल , माद्य  ७ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रूपन्देहीका पाँच निर्वाचन क्षेत्रमा कुल १५७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकृत कल्पना अर्यालका अनुसार, दलगत उम्मेदवार ९४ जना र स्वतन्त्र उम्मेदवार ६४ जना रहेका छन्।

सबैभन्दा धेरै उम्मेदवारी क्षेत्र नं. २ मा परेको छ, जहाँ ४१ जनाले उम्मेदवारी दिएका छन्। यसमा राजनीतिक दलबाट २० जना र स्वतन्त्र २१ जना छन्। क्षेत्र नं. २ बाट नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले छैटौं पटक उम्मेदवारी दर्ता गरेका छन्। पौडेलले २०५६ मा पराजय भोगे पनि २०६४, २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा लगातार जित हासिल गरेका थिए।

त्यसैगरी नेपाली कांग्रेसबाट उद्योगी तथा व्यवसायी चुन्नप्रसाद पौडेल, नेपाल कम्युनिस्ट पार्टीबाट सुवास पाण्डे (विश्वदीप), राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुलभ खरेल, र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कार्भिका थापाले पनि क्षेत्र नं। २ बाट उम्मेदवारी दिएका छन्।

क्षेत्र नं. ३ मा कुल ३६ जनाले उम्मेदवारी दिएका छन्, जसमा दलगत १९ र स्वतन्त्र १७ जना छन्। यस क्षेत्रमा नेकपा एमालेका वासुदेव घिमिरे, नेपाली कांग्रेसका सुशील गुरूङ, रास्वपाका डा. लेखजंग थापा र राप्रपाका क्याप्टेन गौरव बोहरा उम्मेदवार छन्।

क्षेत्र नं. १ मा ३१ जनाको, क्षेत्र नं. ४ मा २२ जनाको र क्षेत्र नं. ५ मा २७ जनाको उम्मेदवारी दर्ता भएको छ। क्षेत्र नं. १ मा नेकपा एमालेका दधिराम न्यौपाने, नेपाली कांग्रेसका हिराबहादुर केसी, राप्रपाका प्रज्वल बोहरा र रास्वपाका सुनील लम्साल उम्मेदवार छन्। क्षेत्र नं. ४ मा नेकपा एमालेबाट प्रमोद यादव, राप्रपाबाट अहमदद्दिन मुसलमान, नेपाली काँग्रेसबाट आशुतोष मिश्र र रास्वपा बाट कन्हैया बानिया छन्। क्षेत्र नं. ५ मा नेकपा एमालेका खिमलाल भट्टराई, नेपाली कांग्रेसका भरत कुमार शाह, रास्वपा तौफिक अहमद खान र नेपाली कम्युनिस्ट पार्टीबाट मुहम्मद वकिल मुसलमान उम्मेदवार रहेका छन्।

यसरी रूपन्देहीमा दलगत र स्वतन्त्र उम्मेदवारबीचको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ माघ ८, बुधवार १३:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको