मकवानपुरमा ४४ जनाको उम्मेदवारी दर्ता



हेटौँडा , माद्य ७ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं. १ बाट २३ जना र क्षेत्र नं. २ बाट २१ जनाले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन क्षेत्र नं. १ मा विभिन्न राजनीतिक दलबाट १३ जना तथा १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै निर्वाचन क्षेत्र नं. २ मा दलगत १६ जना र स्वतन्त्र ५ जना गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयले तोकेको समयसीमाभित्र दलहरूले दलबलसहित उम्मेदवारी दर्ता गराएका थिए ।

मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (एकल चुनाव चिह्न), नेपाल कम्युनिस्ट पार्टी (माओवादी), मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी), जनता समाजवादी पार्टी नेपाल, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी (उनेपा) तथा स्वतन्त्र उम्मेदवार सहभागी भएका छन् ।

उम्मेदवारहरूले हेटौँडा बजार परिक्रमा गर्दै हेटौँडा–११ थानाभर्याङस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । नयाँ राजनीतिक दलहरूले युवा उम्मेदवारलाई अघि सारेका छन् भने परम्परागत दलहरूले अनुभवीसँगै केही नयाँ अनुहारलाई पनि उम्मेदवार बनाएका छन् ।

निर्वाचन क्षेत्र नं. १ मा हेटौँडा उपमहानगरपालिकाका १५ वडा, मकवानपुरगढी गाउँपालिकाका ४ वडा, बागमती र बकैया गाउँपालिका पर्छन् । क्षेत्र नं. २ मा हेटौँडा उपमहानगरपालिकाका १, ३, ११ र १९ वडा, मकवानपुरगढी गाउँपालिकाका ५ देखि ८ वडासहित थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका समेटिएका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरमा तीन लाख १५ हजार ३३४ मतदाताले मतदान गर्नेछन् । निर्वाचन क्षेत्र नं. १ मा एक लाख ५८ हजार ४३५ र क्षेत्र नं. २ मा एक लाख ५६ हजार ८९९ मतदाता रहेका छन् । जिल्लामा १६७ मतदान स्थल र ३७४ मतदान केन्द्र तोकिएका छन् । कर्मचारी र कैदीबन्दीका लागि दुई अस्थायी मतदान केन्द्रसमेत राखिनेछन् ।

प्रकाशित मिति: २०८२ माघ ७, बुधबार १२:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको