एजेन्सी, फागुन २८ । मध्यपूर्वमा बढ्दो द्वन्द्वका बीच इजरायलले इरानको तालिकान परमाणु परिसरमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उक्त आक्रमणपछि राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको र आकाशमा धुवाँ फैलिएको बताइएको छ।
रिपोर्टका अनुसार तेहरानको पश्चिमी क्षेत्रमा शक्तिशाली विस्फोट भएको थियो। प्रत्यक्षदर्शीहरूले शहरको आकाश कालो धुवाँले ढाकिएको बताएका छन्।
मध्यपूर्वमा तनाव गत फेब्रुअरी २८ देखि झन् तीव्र बनेको छ। त्यसदिन अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका विभिन्न स्थानमा हवाई आक्रमण गरेपछि क्षेत्रीय द्वन्द्व चर्किएको बताइएको छ।
यसबीच इरानी संसदका सभामुख मोहम्मद बघेर घलिबाफ ले कडा चेतावनी दिएका छन्। उनले यदि अमेरिका वा इजरायलले फारसको खाडीमा रहेका इरानी द्वीपहरूमा आक्रमण गरेमा इरानले कडा प्रतिकार गर्ने बताएका छन्।
गालिबाफले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, “यदि हाम्रो भूमिमा आक्रमण भयो भने इरानले कुनै संयम नराखी जवाफी कदम चाल्नेछ।” उनले हमलाकर्ताको रगतले फारसको खाडी रातो हुने चेतावनी समेत दिएका छन्।
यसैबीच इरानी सेनाले फारसको खाडीको उत्तरी क्षेत्रमा एउटा जहाजलाई निशाना बनाएको दाबी गरेको छ। इरानी इस्लामिक रिभोल्युसनरी गार्डका अनुसार मार्शल द्वीपसमूहको झण्डा बोकेको उक्त जहाज अमेरिकी स्वामित्वको रहेको दाबी गरिएको छ। चेतावनीको अवहेलना गरेपछि जहाजमाथि आक्रमण गरिएको इरानको भनाइ छ, यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
यसैबीच इराकको कुर्दिस्तान क्षेत्रमा रहेको एक इटालियन सैन्य अड्डामाथि पनि आक्रमण भएको छ। अधिकारीहरूका अनुसार आक्रमणबाट केही भौतिक क्षति भए पनि मानवीय क्षतिको खबर आएको छैन। इटालीका विदेशमन्त्री एनटोनियो ताजनीले उक्त आक्रमणको निन्दा गरेका छन्।
क्षेत्रीय युद्धको प्रभाव विश्व ऊर्जा बजारमा पनि देखिन थालेको छ। इनटरनेशनल इन्क्वाइरी एजेन्सी का अनुसार खाडी क्षेत्रका देशहरूले तेल उत्पादनमा कटौती गरेपछि विश्व बजारमा आपूर्ति घटेको छ। दैनिक करिब ८० लाख ब्यारेल कच्चा तेल उत्पादन घटेको र थप २० लाख ब्यारेल पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भएको बताइएको छ।
युद्धका कारण इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने होर्मुज स्ट्रिट मा आफ्नो नियन्त्रण अझ कडा बनाएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति थप प्रभावित हुने अनुमान गरिएको छ।






