सेयर बजारमा ९ अंक को ‘करेक्सन’, कारोबार रकम ३ अर्बले घट्यो



काठमाडौं, माघ ७ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार सामान्य ‘करेक्सन’सँगै ९.४३ अंकले घटेर २७०५.३८ अंक मा झरेको छ। बुधबार ३२४ कम्पनीको ८९,७६६ कारोबारबाट कुल ८ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यो रकम मंगलबारको तुलनामा करिब ३ अर्बले कम हो।

यो साता नेप्से परिसूचक निरन्तर बढिरहेको थियो। राजनीतिक स्थिरता र आगामी फागुन २१ का प्रतिनिधि सभा निर्वाचन पक्का भएपछि बजारमा सुधारको लहर चलेको थियो। तर, बुधबारको करेक्सनले लगानीकर्तामा दीगो वृद्धिको संकेत दिएको लगानीकर्ता ओमप्रकाश शर्माले बताए।

बजारमा १७४ कम्पनीको सेयर मूल्य घट्दा नेप्से नकारात्मक रह्यो। सेन्सेटिभ इन्डेक्स पनि १.३५ अंकले घटेको छ। अर्कोतर्फ, ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयरमा कुनै परिवर्तन आएको छैन। कालिका पावर र नारायणी डेभलपमेन्ट बैंकका सेयर मूल्य ९ प्रतिशतसम्म बढेका छन्।

सामूहिक परिसूचकमा अधिकांश समूह घटेका छन्। बैंकिङ २.२५, विकास बैंक ३४.६२, वित्त ४३.२८, होटल १४०.३३, जलविद्युत् १.१५, लगानी ०.६८, जीवन बीमा ४७.८८, उत्पादनमूलक ४२.९७, लघुवित्त १२.७७, सामूहिक लगानी कोष ०.१३, निर्जीवन बीमा ३३.६८ र व्यापार ५२.४० अंकले घटेका छन्। तर, अन्य समूहमा ६.३४ अंकको वृद्धि देखिएको छ।

विशेषज्ञहरूका अनुसार निर्वाचन नजिकिँदै गर्दा बजारमा अस्थायी उतार(चढाव देखिनु सामान्य हो। करेक्सनले लगानीकर्तालाई अधिक सचेत र जोखिम मूल्याङ्कन गर्ने अवसर दिएको छ। आगामी निर्वाचनपछि राजनीतिक स्थिरता र लगानीमैत्री नीति आएमा बजारमा दीर्घकालीन सुधारको अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ माघ ८, बुधवार १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको