काठमाडौं, माघ ७ । नेपालका पछिल्ला चुनावहरूमा स्थापित हुँदै आएको गठबन्धन संस्कृतिको राजनीतिक अभ्यास यसपटक कमजोर बन्दै गएको देखिएको छ । प्रमुख दलहरूले उम्मेदवारी दर्ताको चरणसम्म आइपुग्दा एक–अर्कासँग गठबन्धन नगरी एकल प्रतिस्पर्धामा उत्रिने संकेत दिएका छन् । झापा जिल्लालाई हेर्दा यो प्रवृत्ति अझ स्पष्ट देखिन्छ ।
विगतमा नेकपा एमालेसँग चुनावी तालमेल गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसपटक गठबन्धन नगर्ने घोषणा गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ‘आम जनतासँग मात्र तालमेल’ हुने स्पष्ट सन्देश दिएका छन् । झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राप्रपाले आफ्नै उम्मेदवार उठाएको छ । एमालेले पनि सबै क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि दुवै दलबीच परम्परागत चुनावी सहकार्य टुटेको संकेत मिलेको छ ।
नेपाली कांग्रेसले नेतृत्व परिवर्तनपछि गठबन्धन नगर्ने नीति लिएको छ । कांग्रेसका अनुसार पार्टीलाई आफ्नै संगठनात्मक आधारमा अघि बढाउन एकल उम्मेदवारी अनिवार्य भएको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेले देशभर रुख चिन्हमा मतदान गर्न पाउने अवस्था निर्माण गरिएको बताएका छन् । यसैको प्रभावस्वरूप एमाले, राप्रपा, रास्वपा, नेकपासहित अन्य दलहरू पनि एकल प्रतिस्पर्धातर्फ उन्मुख भएका छन् ।
झापामा नयाँ राजनीतिक शक्तिहरूको प्रवेशले प्रतिस्पर्धा थप रोचक बनेको छ । बालेन्द्र शाहले झापा–५ बाट उम्मेदवारी दर्ता गर्दै परम्परागत शक्तिलाई चुनौती दिएका छन् । त्यस्तै, श्रम संस्कृति पार्टी र अन्य नयाँ दलहरूले पनि आफूलाई विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन् ।

अघिल्ला चुनावहरूमा सत्ता प्राप्तिलाई केन्द्रमा राखेर बनाइएका गठबन्धनले अपेक्षित नतिजा दिन नसकेको दलहरूको बुझाइ छ । यही कारण यसपटक दलहरू आफ्नै शक्ति परीक्षण गर्न चाहिरहेका छन् । यद्यपि उम्मेदवारी फिर्ताको समयसम्म गठबन्धनको सम्भावना पूर्ण रूपमा समाप्त भइसकेको छैन ।
समग्रमा हेर्दा, यसपटकको निर्वाचन गठबन्धनभन्दा पनि एकल प्रतिस्पर्धा र नयाँ शक्तिको उदयले चिनिने संकेत देखिएको छ । यसले नेपाली राजनीतिमा नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ ।







